चाैधरीलाई आम माफी, अदालतमाथि बलमिच्याँइः गगन थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

चाैधरीलाई आम माफी, अदालतमाथि बलमिच्याँइः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनु भएको हो । उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । उनले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनले बन्दोबस्त गरे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए ।

उनले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्‍यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । उनले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बताए । उनले राष्ट्रहीत विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए । उनले आजका युृवाहरुमा काँग्रेसप्रति निराशा हुनुको मुल कारण सत्ता र सरकारका लागि काँग्रेसले मरिमेट्नु रहेको उल्लेख गर्नुभयो । यस्ता गल्ती, गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताए ।

उनले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने बताउनु भयो । महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १४:४०