काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा जान अन्तिम स्वीकृति दिएसँगै अन्य प्रकृया पूरा गरी आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीले गत चैत १६ गते मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको अध्यक्ष अजाद श्रेष्ठ हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा साविक प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल (एसके रावल) लाई नियुक्ति भएका छन् ।
हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रुपैयाँ तथा अजोडको १ अर्ब रुपैयाँ छ । सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन अनुसार १०० बराबर ८२.५० को अनुपातमा मर्जर पूरा भएपछि नयाँ कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ६० करोड रुपैयाँ आवश्यक पर्नेछ । कम्पनीले मर्जर पछि हकप्रद निष्काशन गर्नुपर्ने देखिन्छ ।
यसअघि २०७९ असार ३२ गते प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स १०० बराबर ७० को अनुपातमा एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । उक्त मर्जर सम्झौतालाई बीमा प्राधिकरणले गत भदौ १ गते नै सैद्दान्तिक सहमति दिएको थियो । तर गत पुस २६ गते एकाएक दुई कम्पनीले सहमतिमा बीमा प्राधिकरण पुगेर मर्जर तोड्ने सम्झौता गरेका थिए । सोही दिन अजोडले यूनाइटेडसँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको थियो ।
Comment