प्रभु लाइफद्वारा दुई दिनमै मृत्यु दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु लाइफद्वारा दुई दिनमै मृत्यु दावी भुक्तानी



काठमाडौं । मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको दोस्रो दिनमा नै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । २०७८ पुष ९ गते प्रभु लाइफ इन्स्योरेन्सको समुन्नती जीवन बीमा गराएका अजय कुमार साहको क्यान्सरका कारण मृत्यु भए पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो ।

प्रभु लाइफ इन्स्योरेन्स मलंगवा उप शाखामा एक कार्यक्रम वीच दावी भुक्तानी गरेको छ । कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, उप शाखा प्रमुख संजय श्रेष्ठले मृतक अजय कुमार साहको श्रीमती (इच्छाइएको व्यक्ति) अञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरे । छ लाख रुपौंया बीमाङ्कको जीवन बीमा गराएका उनले दुई किस्ता गरि जम्मा रु. ६१,६०६ रकम प्रीमियम तिरेपश्चात उनको मृत्यु भएको थियो । सो वापत प्रभु लाइफ इन्स्योरेन्सले बीमितकी श्रीमती (इच्छाइएको व्यक्ति) अञ्जु कुमारी देवीलाई रु. ६,१८,००० रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले प्रभु लाइफले दावी भुक्तानीलाई छिटो छरितो रुपमा प्रवाह गर्न हरदम तयार रहने कुरा प्रष्ट पारे । साथै यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस जीवन बीमा प्रति आकर्षित हुने औंल्याए । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रभु लाइफ इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ताले थपे ।

उप शाखा प्रमुख संजय श्रेष्ठले मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । त्यसैले सबैले आफ्नो परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा गर्नु अपरिहार्य रहेको औंल्याए ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार २२:२३