सनराइज बैंकको साधारण सभा असार ३ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको साधारण सभा असार ३ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सनराइज बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न सभा असार ३ गते आम्रपालि व्यांक्वेट बालुवाटारमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

सभाले सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।

मर्जरपश्चात लक्ष्मी सनराइज बैंकको नाममा एकीकृत कारोबार हुनेछ । यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने समझदारी भएको छ । अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १०:५२