प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन



काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । दुई महिना लामो अनुसन्धान सकेर प्रहरीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, नेपाल सरकारका सचिवलगायतका १६ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार छन्।

यस घटनामा १०६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ। प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर ९किर्ते० तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने राय छ।

सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गर्न ८ सदस्यीय कार्यदल बनाइसकेको छ। कार्यदलले प्रतिवेदन अध्ययन गरेर सो प्रकरणको मुद्दा बिहीबारसम्म अदालतमा दायर गर्ने तयारी गरेको छ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार १४:४९