काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्जा लगानीमा भएको वृद्धिले हरेक क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन मद्दत पुगेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्र बैंकद्धारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून रहेको छ।’
सीमित क्षेत्रका व्यक्ति बैंकिङ क्षेत्र ठूलो स्रोत–साधन प्रयोग गर्ने र उपलब्ध स्रोत–साधन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनुत्पादक केन्द्रित हुनेजस्ता समस्या पनि प्रशस्तै देखिएको दाहालले बताए। अहिले अर्थतन्त्रमा समस्या देखिनु पनि यस्तै क्रियाकलाप जिम्मेवार रहेको उनको भनाइ थियो।
यस्ता प्रवृत्तिलाई रोक्न केन्द्रीय बैंक र बैंकिङ क्षेत्रले समयमै उचित कदम चाल्नुपर्ने आवश्यक रहेको प्रधानमन्त्री दाहालले औँल्याए।
नेपालको अर्थतन्त्रले आन्तरिक र बाह्य कारणले सिर्जना भएका चुनौतीहरुको उच्चतम विन्दु पार गरिसकेको पनि दाहालले बताए। ‘आगामी परिदृष्य राम्रो रहेको छ’, उनले भने।
पर्यटन पूर्वाधारमा गरिएको लगानी र कोभिड महामारी छि विश्वभर पर्यटन क्षेत्रमा बढेको चहल–पहलबाट आगामी शरदऋतुमा नेपालको पर्यटन क्षेत्र कोभिड महामारीपूर्वको अवस्थामा फर्कने संकेत देखिएको दाहालले बताए। ‘नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी–व्यवसायीलाई केही राहत दिने व्यवस्था गरेको छ। बैंकिङ क्षेत्रको तरलता बढ्दै जाने र कर्जाको ब्याजदर घट्दै जाने क्रमले आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ’, उनले भने।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले संरचनागत सुधार गर्ने, बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने, अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिने प्रधानमन्त्री दाहालले बताए। ‘यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ’, उनले भने।
Comment