आरोप प्रमाणित गर्न पुराना ब्रोकरलाई नयाँ ब्रोकरहरुको एसोसिएसनको चुनौती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरोप प्रमाणित गर्न पुराना ब्रोकरलाई नयाँ ब्रोकरहरुको एसोसिएसनको चुनौती



काठमाडौं। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति नयाँ स्टक ब्रोकर एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ। एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै पुरानो स्टक ब्रोकर्स एसोसिएसनले गत वैशाख २९ गते विज्ञप्ति जारी गर्दै नेपाल धितोपत्र बोर्ड (नियामक निकाय), मन्त्रिपरिषद (सरकार) र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलेखलप्रति गम्भीर ध्यनाकर्षण भएको जनाएको हो।

पुराना ब्रोकरले जारी गरेको विज्ञप्ती सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताको उपज भएको नयाँ ब्रोकर एसोसियसनको आरोप छ।

‘स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ’ नयाँ स्टक ब्रोकर एसोसिएसनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

नेपालको इतिहासमा पहिलोपटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना रहेको विज्ञप्तिमा जनाइएको छ। ‘तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौति दिन्छौँ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानुनी उपचार खोज्न बाध्य हुनेछौँ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : ३१ बैशाख २०८०, आईतवार ११:२०