काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताए ।
प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिब ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको जानकारी अध्यक्ष सिलवालले दिए ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरू शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरू सञ्चालनमा आएको स्पष्ट गर्दै बीमा कम्पनीका कर्मचारीहरूका एकै खालका समस्या भए समाधानका विकल्पसहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफल रुपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको थियो ।
Comment