९७ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

९७ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार पैयाँको ‘वैदेशिक रोजगार बचतपत्र–२०८५’ वैशाख १७ गते (आइतबार)देखि बिक्री खुला गर्ने भएको छ। राष्ट्र बैंकले वैदेशिक रोजगारमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीका लागि यो बचतपत्रको बिक्री खुला गर्न लागेको हो।

यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासी नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।

यो बचतपत्रमा वार्षिक ११ प्रतिशत (ब्याजकर लाग्ने) ब्याज पाइनेछ। यो बचतपत्रको ब्याज भुक्तानी ६–६ महिनामा गरिनेछ भने ५ वर्षमा साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

यो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिनेछ।लगानीकर्ताले आउँदो जेठ १७ गतेसम्म यो बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले काठमाण्डौस्थित सिटिजन्स् बैंक इन्टरनसेनल, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेस मनी ट्रान्सफर, आइएमई लिमिटेड, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, ई–सेवा मनी ट्रान्सफर र नेपाल रेमिट इन्टरनेसनलमा गएर बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले वैदेशिक रोजगार बचत खरिद गर्नका लागि राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणालीमार्फत पनि आवेदन पेस गर्न सक्नेछन्। यो बचतपत्रको निष्कासन जेठ २४ गते हुनेछ भने साँवा भुक्तानी २०८५ जेठ २४ गते हुनेछ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार १०:४७ 28 April, 2023 10:47 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।