ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ भन्ने आभाष दिलाउनुपर्छः कुबेर निराैला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ भन्ने आभाष दिलाउनुपर्छः कुबेर निराैला



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का भूतपूर्व प्रमुख कार्यकारी अधिकृत एवं सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारी संस्थाले प्रवाह गरेको ऋणको सुरक्षाका लागि सदस्य सामिप्यता अपरिहार्य रहेको बताउनुभएको छ ।

सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसंग सहकार्य गरेर सोमबारबाट संचालन गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रमको तेस्रो दिन सहभागीलाई प्रशिक्षण गर्दै उहाँले आज यस्तो बताउनुभएको हो ।

उहाँले सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुले सदैव ऋणी सदस्यहरुको समिपमा रहेर उनीहरुको ब्यापार व्यवसाय तथा सामाजिक अवस्थाको बारेमा जानकारी लिनुका साथै समस्या परेको समयमा आवश्यक सहयोग समेत गर्नुपर्ने कुरामा जोड दिनुभएको हो । ‘ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी मेरो पनि हो भन्ने कुराको आभाष दिलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

सहकारी संस्थाले सदस्य केन्द्रित ब्यवसाय गर्ने भएकाले परिस्थिति अनुसार ऋणी सदस्यको विभिन्न पक्षहरुको विश्लेषण गरेर भाखा नाघेको ऋणको म्याद थप्नुका साथै ऋणको पुनर्तालिकीकरण समेत गर्नुपर्ने बताउनुभयो ।

तालिममा सहभागी सहकारी संस्थाका संचालक, ब्यवस्थापक र कर्मचारीहरुलाई कानुनले तोके अनुसार अनिवार्य कर्जा नोक्सानी ब्यवस्था गर्न सुझाव दिनुभयो । ‘सहकारी संस्थाले नाफा कम हुन्छ, शेयर सदस्यलाई धेरै शेयर लाभांश वितरण गर्न पाईंदैन, कर्मचारीलाई बोनस कम हुन्छ भनेर कर्जा नोक्सानी ब्यवस्था कम देखाउन हुँदैन,’ उहाँले भन्नुभयो ।

सहकारी विभागले जारी गरेको एकीकृत निर्देशनमा ऋणहानी ब्यवस्था नगरी शेयर लाभांश वितरण गर्ने सहकारीका संचालकबाट दामासाहीमा यस्तो रकम असुलउपर गरेर जगेडा कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेको समेत स्मरण गराउनुभयो ।

उहाँले संस्थाको वित्तीय स्वस्थताका लागि अनिवार्य बचत तथा नीत र ऋण नीति तयार पारेर कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाले अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तका साथै राज्यले जारी गरेका ऐन, कानुन, नीति, नियम, निर्देशन लगायतका ब्यवस्था पालना गरेर कारोबार गर्नुपर्नेमा जोड दिनुभयो ।

‘राज्यले जारी गरेका ऐन, कानुन, नीति, नियम, निर्देशन, मापदण्ड पालना नगरी कारोबार गर्ने हो भने सहकारी संस्था जुनसुकै समय वित्तीय दुर्घटनामा पर्न सक्छ,’ उहाँले सचेत गराउनुभयो । साथै उहाँले अन्य सहकारी संस्थामा समस्या आएको हो, हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्न समेत सल्लाह दिनुभयो । 

प्रशिक्षक निरौलाले सहकारी संस्थाले कर्जाको सुरक्षण गर्नका लागि ऋणको उपयोग, ऋणी सदस्यको तिर्न सक्ने क्षमता, धितो जमानत, पूँजीको संरचना, चरित्र लगायतको मिहिन विश्लेषण गरेर योजना तयार पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कतिपय सहकारीले विना अध्ययन विश्लेषण लामो अवधिका लागि ढिला प्रतिफल दिने, उनुत्पादक र जोखिमयुक्त क्षेत्रमा ऋण लगानी गरेकाले समयमै कर्जा असुली हुननसकेको अनुभव सुनाउनुभयो । ‘सहकारीले जहिले पनि बचत योजनाको आधारमा ऋण लगानी योजना तयार पार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘छोटो अवधिको योजना अन्तर्गत बचत संकलन गरेको छ भने लामो अवधिका लागि कर्जा लगानी गर्न हुँदैन ।’

यसैगरी सहकारी संस्थाले ऋण लगानी गर्दा ऋणी सदस्यलाई ऋणको उपयोग, ब्याजदर र संस्थागत अवस्थाबारे स्पष्ट अवगत गराउनुपर्ने बताउनुभयो । ‘ऋण लगानी गर्दा ऋणी सदस्यलाई ऋणको बारेमा स्पष्ट पार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो पैसा अन्य शेयर सदस्यहरुले बचत गरेको हो । तपाईंले समयमा तिर्नुभएन भने उहाँहरुलाई निक्षेप फिर्ता गर्न सकिदैन  भनेर बुझाउनुपर्छ ।’

प्रशिक्षक निरौलाले सहकारीले एक लाख रुपैयाँ भन्दा बढी रकम बिना धितो लगानी गर्न र ऋण पुँजीकरण गर्न नपाउने कानुनी ब्यवस्था रहेको समेत जानकारी गराउनुभयो । 

प्रकाशित : १३ बैशाख २०८०, बुधबार १८:२७