सहकारीको दिगोपनाका लागि शेयर सदस्य जागरुक हुनुपर्छ : जिसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको दिगोपनाका लागि शेयर सदस्य जागरुक हुनुपर्छ : जिसी




काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरुको दिगोपनाका लागि सदस्यहरु जागरुक हुनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनीमा आयोजना गरेको २ दिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिमको समापनमा बोल्दै जिसीले यस्तो बताएका हुन् ।

सदस्यको साह्रो गाह्रोमा सहकारीले साथ दिने र सहकारीलाई समस्या पर्दा सदस्य निर्धक्क उभिनु पर्नेमा अझै सदस्यहरुमा सहकारी हामीले जोगाउने हो भन्ने भावना नआएको बताए । सहकारीलाई दिगो बनाउनका लागि सदस्यहरुलाई जागरुक बनाउने अभियान सञ्चालन गर्नु पर्ने र शेयर सदस्यहरुले पनि संस्थालाई दिगो बनाउनका लागि भूमिका खेल्नु पर्नेमा जिसीको जोड थियो ।

वित्तीय कारोबार गर्ने सहकारीमा कर्जा व्यवस्थापनमा ध्यान दिन नसक्दा जोखिम बढ्ने भएकाले सचेतना आवश्यक रहेको बताए । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक विखर्ची) ले यतिबेला सहकारीमाथि चौतर्फी हमला भएको भन्दै सम्पूर्ण सहकारीकर्मीहरु एकतावद्ध भएर अभियान जोगाउन लाग्नु पर्ने बताए ।

बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीले सहकारीको माध्यमबाट समाज परिवर्तन आएकोले यसलाई अप्ठेरो परेमा सबैले हातेमालो गरेर अगाडी बढ्न पर्ने बताए । दुई दिन सम्म सञ्चालन भएको कर्जा लगानी तथा असुली व्यवस्थापन तालिमको समापन समारोह राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षता बागलुङ शाखा प्रवन्धक युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा सहभागीका तर्फबाट बोल्दै कृष्ण गंगा सहकारी संस्थाका सचिव भोजराज आचार्य र दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक समिक्षा ढुंगानाले सहकारीमा कर्जा व्यवस्थापन तालिम सहकारीको प्राणको रुपमा रहेको बताएका थिए ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलवार १४:११