नयाँ स्टक एक्सचेञ्जका लागि बोर्डमा तीन कम्पनीको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँ स्टक एक्सचेञ्जका लागि बोर्डमा तीन कम्पनीको आवेदन



काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीकाे आवेदन परेको छ । बाेर्डमा अन्नपूर्ण स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेञ्जले आवेदन दिएका हुन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म उक्त कम्पनीहरुले नयाँ स्टकका लागि आवेदन दिएका हुन् ।

दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएन, केडिया समूहको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी रहेको छ । त्यस्तै, केडियामा मनोज केडिया, अग्नी प्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी रहेको छ ।

त्यस्तै, यसअघि शुक्रबार पनि हिमालयन स्टकले आवेदन दिएको थियो। हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको एक्सचेन्जले लाइसेन्सका लागि बोर्डमा आवेदन दिएको थियो । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ । नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा अन्नपूर्ण मिडिया हाउसका संचालक रामेश्वर थापा प्रमुख लगानी रहेको छ । साथमा अरु केही लगानीकर्ता पनि रहेका छन् । थापाको अगुवाईमा दर्ता भएको यो कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण पौडेल रहेका छन्। यो कम्पनीमा ठूला व्यवसायिक घरानाको सहभागिता कम छ।

थापाको पनि राजनीतिक तहमा राम्रै प्रभाव छ। त्यही प्रभावलाई हेरेर उनले यो कम्पनी दर्ता गरेका हुन्। उनको संचारमाध्यम, हेलिकोप्टर, घरजग्गा, कलेज लगायत विभिन्न क्षेत्रमा लगानी छ। कुल चुक्ता पूँजीको ३० प्रतिशत साधारण सेयर जारी गर्नुपर्छ ।

यस्तै धितोपत्र बोर्डले वस्तु विनियम बजारका लागि पनि आवेदन माग गरेको थियो । आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा लाइसेन्सका लागि निवेदन दिएका छन्।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १७:१६