बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै मोदी ईनर्जी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बैशाख १९ गतेदेखि आईपीओ निष्काशन गर्दै मोदी ईनर्जी



काठमाडाैं । मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ७२ लाख ५० हजार कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गर्न लागेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ भने ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आइपीओमा बैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार ०८:१७