नौ महिनामा व्यापार घाटा १० खर्ब नाघ्यो , १२ खर्बको आयात हुँदा निर्यात सवा खर्ब मात्रै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नौ महिनामा व्यापार घाटा १० खर्ब नाघ्यो , १२ खर्बको आयात हुँदा निर्यात सवा खर्ब मात्रै



काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा नेपालको कुल व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । चालु आवमा तरलता अभाव, अर्थतन्त्रमा मन्दी एवम् सरकारले समेत केही समय १० वटा सामाग्रीमा लगाएको रोकलगायतका कारण आयात व्यापार खस्किएकाले अघिल्लो वर्षको तुलनामा व्यापार घाटामा कमी आएको हो ।

नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । सो अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आवको ९ महिनामा कूल व्यापार १८.८९ प्रतिशतले घटेको छ । गत आवमा कूल १६ खर्ब २७ अर्ब २३ करोड बराबरको व्यापार भएको थियो । गत आवमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको सामान आयात भएकोमा चालु आवको ९ महिनामा १८.०८ प्रतिशतले कमी आई १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो । गत आवको ९ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड बराबरको सामान निर्यात भएकोमा चालु आवको ९ महिनामा २६.३४ प्रतिशतले ओरालो लागेर एक खर्ब १८ अर्ब २७ करोड बराबरको सामान निर्यात भएको हो।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १६:०२