वाणिज्य बैंकको वित्तीय विवरण : कुन बैंककाे नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकको वित्तीय विवरण : कुन बैंककाे नाफा कति ?



काठमाडौं । अधिकाशं बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । काेराेना महामारी र त्यसपछि उत्पन्न परिस्थितिले बैंकहरूलाई असर पुर्‍याएकाे उनीहरूकाे वित्तीय विवरणले देखाउँछ । उक्त विवरण अनुसार २१ बाणिज्य बैंकहरुको वित्तीय विवरण यस्तो छ ।

कुन बैंककाे नाफा कति ?

एभरेष्ट बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ५१ करोड ६३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ५९.३८ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ६२.५९ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको आरओई १३.६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको आरओई ९.५० प्रतिशतले थियो । आरओए १.४७ प्रतिशत छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसाले बढे ३० रुपैयाँ ७४ पैसा पुगेको छ । गत वर्ष ०.२६ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७० प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा छ ।

नबिल बैंक

नबिल बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५२.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैंया पुगेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा यसले ६ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा सञ्चालन नाफा ५६.५४ प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ । तथापि, एक वर्षको अवधिमा खराब कर्जा १.१४ प्रतिशत भएको छ ३.८७ प्रतिशत पुगेको छ । जसको कारण बैंकले इम्पेयरमेन्ट चार्चमा ठूलो रकम छुट्याएको छ । गत वर्ष ६१ करोड ५ लाख १२ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३ अर्ब ३३ करोड १७ लाख १२ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ०७ पैसा छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब रुपैयाँ नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस त्रैमासमा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ ।

गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ ।

बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ ।

कुमारी बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ रहेको छ ।

कुमारी र एनसीसी बैंकबीच गत असोजमा मर्जर सम्झौता भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो ।

यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको खराब कर्जा ०.८ र सीडी रेसियो ८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.१४ प्रतिशत र सीडी रेसियो ९५.३५ प्रतिशत थियो । बैंकले सीडी रेसियो ह्वात्तै घटाउन सफल भएको छ ।

नेपाल बैंक

नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको नाफा १८ प्रतिशतले घटेको देखिएको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८७ अर्ब निक्षेप र १ खर्ब ६८ रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ भने कर्जा–निक्षेप अनुपात ७७.७५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको २.०६ खराब कर्जा र ९०.३६ प्रतिशत सीडी रेसियो थियो ।

प्रभु बैंक

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमाको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.५ प्रतिशत रहेको छ भने ८५ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

प्रभु बैंकले गत पुसमा सेञ्चुरी बैंकलाई गाभेको थियो । एकीकृत कारोबार नहुँदै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ७५ करोड नाफा, १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । सो अवधिमा प्रभु बैंकको एनपीएल १.२१ प्रतिशत र सीडी रेसियो ८२.११ प्रतिशत थियो ।

यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकमा १ अर्ब १ करोड खुद नाफा गरेको छ भने ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप, ८७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, सेञ्चुरी बैंकको खराब कर्जा १.६० प्रतिशत र सीडी रेसियो ९३.५७ प्रतिशत थियो ।

सिद्धार्थ बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको नाफा २८ प्रतिशतले घटेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले तेस्रो त्रैमाससम्म कुल २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ८९ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, बैंकको तेस्रो त्रैमासमा ३.९७ प्रतिशत खराब कर्जा देखिएको छ भने ८३ प्रतिशत सीडी रेसियो कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.१२ प्रतिशत र सीडी रेसियो ८९.७५ प्रतिशत थियो ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो । गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ । यस्तै, बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संक्लन गरेको छ भने १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ । यस्तै, गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो ।

एनएमबि बैंक

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि बैंकको खुद नाफा सामान्य अर्थात् ०.६५ प्रतिशतले बढेर २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब ६६ करोड ५२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ४६.४७ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ४६ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा १.१९ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.५० प्रतिशतले बढेर २.९६ प्रतिशतले पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०२ पैसा छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको तुलनामा यसले १६.९६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेर ११ अर्ब ७९ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा १७।२० प्रतिशतले बढेको छ ।

यता, चैत मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ । बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा छ ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकको अधिकांश प्रमुख सूचकहरु बढेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ६०.२५ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसैअवधिमा बैंकले १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यता, चैत मसान्तसम्म यस बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ ।

खुद ब्याज आम्दानी ७८.३६ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७२ लाख रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ६०.२३ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ८० लाख रुपैयाँ पुगेपछि खुद नाफामा आकर्षक सुधार भएको हो । यसको खराब कर्जा भने सामान्य बढेको छ । गत वर्ष ०.३६ प्रतिशत रहेको खराब कर्जा अहिले ०.९० प्रतिशत रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँले बढेर ३६.९१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २०४.१८ रुपैयाँ रहेको छ ।

सनराइज बैंक

सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ८.३३ प्रतिशतले घटेर १ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकले १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १४ करोड १७ लाख रुपैयाँ थियो ।

यो त्रैमासम्म बैंकको खुद ब्याज आम्दानी ३७.५२ प्रतिशतले बढ्दा सञ्चालन नाफा ७.४८ प्रतिशतले घटेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६१ पैसाले घटेर १५ रुपैयाँ ४३ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ १४ पैसा रहेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २४.९६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९३.१३ प्रतिशतले र २६.४३ प्रतिशतले बढेको छ ।

चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढी रहेको छ भने रिजर्भ कोष १०८.२५ प्रतिशतले बढेर १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ । यसको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब ३२ करोड रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर हाल ४.५६ प्रतिशत पुगेको छ । यसको प्रतिसेयर आम्दानी ७३ पैसाले बढेर १५.०४ रुपैयाँ पुगेको छ ।
प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.३५ प्रतिशत थोरै हो । बैंकको खुद ब्याज आम्दानी १८.०७ प्रतिशतले बढेको छ । यद्दपि, खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चर्चा वापत करिब १ अर्ब रुपैयाँ छुट्याउनु परेपछि सञ्चालन नाफा ९.६४ प्रतिशतले घटेको छ ।

खराब कर्जा गत आर्थिक वर्षको यसै अवधिमा ०.९४ प्रतिशतले मात्र रहेकामा अहिले बढेर ३.०६ प्रतिशत पुगेको छ । जसका कारण खुद नाफा प्रभावित भएको देखिन्छ । प्राइम बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा केही सुधार भएको छ । रिजर्भ कोष पनि ३४.५८ प्रतिशतले बढेर करिब ९ अर्ब रुपैयाँ पुगेको छ । यता, खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि केही संकुचित भएको छ । प्रतिसेयर आम्दानी २.४९ रुपैयाँले घटेर १६.९६ रुपैयाँमा आएको छ । यसको इक्विटीमा प्रतिफल पनि १३.६४ प्रतिशतबाट घटेर चैत मसान्तसम्ममा ११.५० प्रतिशतमा आएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ६१ लख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । यसले पनि नाफा बढ्न टेवा दिएको हो । खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले र सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेको छ ।

वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ८६.४२ प्रतिशतले बढेर ३४ अर्ब १२ करोड ८२ लाख ९५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी बढेको आधारमा बैंकको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी केही दबाबमा परेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले घटेर १५ रुपैयाँ २ पैसामा आएको छ । इम्पेयरमेन्ट चार्ज ७० करोड १९ लाख रुपैयाँ रिभर्स भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनलले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेको छ गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकले ४ अर्ब ३९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा ३ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन ८ अर्ब बढेर १ खर्ब ६० अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३९ अर्ब पुगेको छ ।

बैंकले गत आवको सोही अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९८ प्रतिशत छ भने सीडी रेसियो ८६.५६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको सोही अवधिमा खराब कर्जा १.७२ प्रतिशत र सीडी रेसियो ९०.६९ प्रतिशत थियो । यस्तै, बैंकको वितरणयोग्य नाफा १४ करोड ३४ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको सोही तुलनामा यस त्रैमासमा नाफा बढाएको हो ।

बैंकले यो अवधिमा ४ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले निक्षेपकर्ताबाट १ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको छ । यस्तै, गत आवको सोही अवधिमा बैंकले १ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यो अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८५.३६ प्रतिशत कायम भएको छ । यस्तै, बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.०८ प्रतिशत थियो भने सीडी रेसियो ८७.२४ प्रतिशत थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ११.९५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.६१ रुपैयाँ छ ।

सानिमा बैंक

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो । बैंकले यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ ।

गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकको चालु आवको तेस्रो त्रैमाससम्म खुद नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैया रहेको थियो । चैत मसान्तसम्म वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड ७० लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १३.१० प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ३१ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहीबार १३:५३