नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, संस्थाले तत्काल कार्यान्वयन नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेष्डोलाई १७.९३ प्रतिशत लाभांश मात्र बाड्न राष्ट्र बैंकको निर्देशन, संस्थाले तत्काल कार्यान्वयन नगर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तलाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले कम्पनीले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

योसँगै यसअघि प्रस्ताव गरेको लाभांश ५५.७४५८ प्रतिशतले घटेको छ। गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशत रकम संस्थाले छुट्याएको थियो।

प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंक पठाएको थियो। राष्ट्र बैंकले लाभांशमा कटौती गरेपछि नेष्डो समृद्ध लघुवित्त रुष्ट बनेको छ। राष्ट्र बैंकको यो निर्देशन आफैँले फागुन १० को परिपत्रसँग बाझिएको संस्थाले जनाएको छ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समान नभएको र राष्ट्र बैंकको यो कदमले सेयरधनीहरुले पाउने प्रतिफलको अधिकरसमेत हनन भएको संस्थाले ठहर गरेको छ।

राष्ट्र बैंकको निर्देशनले संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको र लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको संस्थाले जनाएको छ। ‘त्यसैले राष्ट्र बैंकको उक्त निर्देशन तुरुन्त कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन नसकिने जानकारी गराउँछौँ’, संस्थाद्वारा जारी सूचनामा भनिएको छ, ‘विगतका व्याख्या र संस्थागत अभ्याससमेतको तथ्यपूर्ण कानुनी व्याख्या गरी निर्णयमा पुग्नेछौँ।’

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार ११:५०