एउटा शीर्षकमा कर्जा लिएका लघुवित्तका ऋणीले अन्य शीर्षकमा पनि ऋण लिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एउटा शीर्षकमा कर्जा लिएका लघुवित्तका ऋणीले अन्य शीर्षकमा पनि ऋण लिन पाउने



काठमाडौं । अब लघुवित्त संस्थाबाट एउटा प्रयोजन वा शीर्षकमा ऋण लिएका ऋणीले अर्को शीर्षक वा प्रयोजनामा समेत ऋण लिन सक्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै बिहीबार जारी गरेको परिपत्रले यस्तो व्यवस्था गरेको हो।

एकभन्दा बढी शिर्षकमा कर्जा लिन सकिने व्यवस्था गरिएपनि कर्जा सीमा भने पुरानै व्यवस्था अनुसार कायम हुनेछ। हाल सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति समूह सदस्य बढीमा पाँच लाख रुपैयाँसम्म लघुकर्जा र दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यले सात लाख रुपैयाँसम्म कर्जा पाउँछन्।

त्यस्तै, धितो राख्ने ऋणीले प्रति व्यक्ति बढीमा सात लाख रुपैयाँसम्म र विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिले १५ लाख रुपैयाँसम्म पाउने गरेका छन्। केही समयअघि मात्रै एउटा ऋणीले एकभन्दा बढि लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ।

अब लघुवित्त कम्पनीहरूले असल कर्जामा पनि १।३ प्रतिशत न्यूनतम कर्जा नोक्सानी व्यवस्थामा रकम राख्नुपर्ने भएको छ। यसअघि कम्पनीहरूले असल कर्जामा १ प्रतिशत रकममात्र यस्तो व्यवस्थामा राख्नुपर्थ्यो।

त्यस्तै, लघुवित्त संस्थाले ऋणीलाई कर्जा प्रवाह गरेको सात दिनभित्र कर्जा सूचना केन्द्रमा ऋणी सम्बन्धि विवरण पठाउनुपर्ने भएको छ। यसअघि १५ दिनभित्र यस्तो सूचना पठाउनुपर्ने व्यवस्था थियो।

अब संस्थाहरूले ऋणीको कर्जा तिर्ने भाका ९० दिन नाघेमा त्यसको १५ दिनमा केन्द्रमा जानकारी पठाउनुपर्ने भएको छ। राष्ट्र बैंकले सरलीकृत ग्राहक पहिचान लगायतको नयाँ व्यवस्था पनि गरेको छ।

प्रकाशित : ३ बैशाख २०८०, आईतवार १५:४८