‘सहकारीमार्फत दिगो विकासको लक्ष्य प्राप्त हुन्छ तर राज्यको व्यवहार सन्तोषजनक छैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘सहकारीमार्फत दिगो विकासको लक्ष्य प्राप्त हुन्छ तर राज्यको व्यवहार सन्तोषजनक छैन’



काठमाडौं । दिगोे विकासका लक्ष्य प्राप्तीका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कडेलले बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिन कार्यक्रमको अध्यक्षता गर्दै कँडेलले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्ती सम्बन्धी कामहरु भएको बताएका हुन ।

‘नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ । सहकारीको भूमिका १५औं योजनामा समेत प्रष्ट रुपमा खुलाईएको छ । सहभागितामा कुनै समस्या छैन । सरकारले नै सहकारी मार्फत हुन सक्ने दिगो विकासमा जोड दिएको छ । राज्य स्तरमा बुझाई र समन्वयमा समस्या छ । तर, पनि सहकारी अभियानले दिगो विकासमा ध्यान दिन आवश्यक छ’, कँडेलले भने । त्यसैगरी कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलेले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्ती गर्ने कामहरु गरेको बताए ।

‘सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ । जसले बजार गतिशिल बनाउनको लागि भूमिका निर्वाह गरेको छ । पूँजीवादलाई बचाउनको लागि सहकारी आवश्यक छ, त्यसैले सामाजिक आयामलाई बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण छ’, पोखरेलले भने । उद्यमहरुको प्रचार प्रसार र पूँजी उत्पादन गर्न सहकारीले सहयोग गरेको समेत पोखरेलले बताए ।

‘स्थानीय स्तरमा रहेका स्रोत साधनहरुलाई पहिचान गरी त्यसको परिचालन सहकारीमार्फत उचित रुपमा भएको छ’, उनले भने, ‘सहकारीले सबैलाई समेटेर उत्पादनलाई संस्थागत गरेको छ ।’

समाजमा देखिएको वर्गीय असमानतालाई बचाउनको लागि सहकारीले राम्रो भ्रमिका निर्वाह गरेको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले बताए । सहकारीले गरिब अन्त्य, रोजगारी र उद्यमशिलतालाई जोड दिएको पोखरेलले बताए । सहकारीले गुणस्तरिय शिक्षाको लागि बिना धितो कर्जा प्रवाह, सामाजिक असमानता न्यूनिकरण गर्न, शान्ति स्थापना गर्नको लागि सहकारी अग्रसर रहेको पोखरेलको भनाई छ । राज्य पुग्न नसकको ठाउँमा पनि सहकारी पुगेको उनको भनाई थियो ।

सहकारी र दिगो विकास बीचमा अन्तर सम्बन्ध रहेको यूएनडिपिका कानूनी सल्लाहकार धर्मा स्र्णकारले बताए । सहकारीका सिद्धान्तबाट दिगो विकास प्रोत्साहन भएको उनको भनाई थियो । व्यवहारमा सहकारी र नीजि क्षेत्रको सम्बन्धको विषयमा बहस गर्न जरुरी रहेको उनको बुझाई छ ।

त्यसैगरी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी क्षेत्र सरकारबाट नै उपेक्षित बनेको बताए । ‘राज्यले सहकारी क्षेत्रलाई प्राथामिकता दिएको छैन । सहकारीले गरेको उत्पादनमा प्राथामिकता दिन सकेन ।

अर्थतन्त्रको रुपमा तेस्रो खम्बाको रुपमा मान्यता दियो तर व्यवहारमा छैन’, उनले भने, ‘सहकारीमार्फत सामाजिक उत्तरदायित्व सबै भन्दा धेरै भएको छ । तर त्यसको मूल्यांकन हुन सकेको छैन् । दिगो विकासका लक्ष्यहरुमा मात्र नभएर समृद्धिमा समेत योगदान गरेको छ । सहकारीलाई राज्यले प्राथामिकता नदिएसम्म दिगो विकासको लक्ष्य पूर्ण हुँदैन ।’

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १२:४६