सहकारीहरुलाई प्रतिस्पर्धी र दक्ष बनाउन प्रविधिको प्रयोग अनिवार्य गराइनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारीहरुलाई प्रतिस्पर्धी र दक्ष बनाउन प्रविधिको प्रयोग अनिवार्य गराइनुपर्ने



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी संस्थाहरुलाई प्रविधिमैन्त्री बनाउन आफ्नो दक्षता र क्षमता बढाउन आवश्यक रहेको औंल्याएका छन् । उनले सहकारीहरुलाई प्रतिस्पर्धी र दक्ष बनाउन प्रविधिलाई आर्थिक क्षेत्रको प्रमुख साधनका रुपमा अपनाउनुपर्ने बताए ।

विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन शुक्रबार ‘सहकारी क्षेत्रमा डिजिटल नविनता’ विषयगत कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले हरेक प्रविधि अर्थतन्त्रको साधन भइसकेकाले विस्तारै नोटको कारोबार कम हुँदै जाने र प्रविधि अनिवार्य हुँदै गइरहेको बताए ।

पूर्वमन्त्री पाण्डेले भने,‘सहकारीहरु प्रविधिमैत्री नभए आफ्ना शेयर सदस्य वा ग्राहकहरुको अनुभव, दक्षता र चुनौति बुझ्न नसकिने भएकाले डिजिटल करेन्सी अनिवार्य गराइनुपर्छ । प्रविधिलाई विज्ञानको उपहार मात्र मानेर बस्न थालियो भने विश्वव्यापी प्रतिस्पर्धामा पछि परिन्छ । त्यसैले डिजिटल कारोबार अनिवार्य गरिनुपर्छ ।

पाण्डेले मुलुकको कुल ग्राहस्त उत्पादनमा सहकारीको कारोबार कति छ भनेर जन गणनामा समावेश गराउन जोड दिनुपर्ने बताए । पूर्वमन्त्री एवम राष्ट्रिय सहकारी महासंघका सल्लाहकार गणेश प्रसाद शाहले स्मार्ट सहकारीले सामाजिक अभियानमा सहयोग पुर्याउने मात्र नभइ औद्योगिक क्रान्तीमै भूमिका निर्वाह गर्ने बताए ।

उक्त बहसमा इन्फो डेभलपमेन्ट प्रालिका उमेश राजवंशी, आइसीटी विज्ञ मनोहर भट्टराईले पनि सहकारीमा प्रविधिको प्रयोग अनिवार्य भइसकेको बताए । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको महासम्मेन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत भइरहेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १५:०५