सहकारी महासम्मेलन: सरकारले सहकारीहरुलाई सहजीकरण गरोस तर निर्देशन नगरोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी महासम्मेलन: सरकारले सहकारीहरुलाई सहजीकरण गरोस तर निर्देशन नगरोस



काठमाडौं । विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विषयगत छलफल शुरु भएको छ । शुक्रबारको पहिलो प्यानल बहसमा विजनेस काउन्सिल अफ को अपरेटिभ म्युचियल अष्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत मेलिना मोरिसनले सहकारीको भूमिका शुसासन, विकास र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने धारणा राखिन ।

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सहजीकरण गरेको प्यानल डिस्कसनमा मोरिसनले सहकारीहरुले सामाजिक उत्तरदायित्व साथै सामाजिक संरक्षणमा गम्भीर भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको महासम्मेनमा मोरिसनले सहकारी अभियन्ताहरुले आफ्नो सोच धारणा एक आपसमा आदनप्रदान हुनुपर्ने बताइन । साथै उनले सहकारी संस्थाहरुको साझा संस्थाहरुको भूमिकाका बारेमा प्रश्न गरिन ।

अर्का वक्ता आइसिए एपीका क्षेत्रीय निर्देशक बालु एयरले सहकारीहरुले आफ्नो पहिचान गुमाउनु नहुने धारणा राख्दै युवा र महिलाको सहभागिता बढाउन विद्यालय शिक्षामा जोड दिनुपर्ने औंल्याए । उनले भने,‘सहकारीहरुले आफ्नो मूल्य मान्यताबाट गएर काम गरिरहेका छन् । यसका लागि संचार जगत र साझा संस्थाहरुको भूमिका प्रमुख हुनेछ ।’ उनले सरकारले सहकारीहरुलाई सहजीकरण गरोस तर निर्देशन नगरोस भन्ने धारणा व्यक्त गरे ।

बरिष्ठ पत्रकार कनकमणि दिक्षितले सहकारी क्षेत्रको समाचार सम्प्रेषण गर्नु संचार क्षेत्रको अनिवार्य दायित्व भएको औंल्याउँदै मुलुको भविष्य सहकारी क्षेत्रमा रहेको बताए । पूर्वअर्थमन्त्री डा.खतिवडाले सहकारी संस्थाहरु संचारमाध्यमबाट आफ्नो अभियानका बारेमा जानकारी गराउन चुकेको बताए ।

भारतको राष्ट्रिय सहकारी विकास निगमका एमडी पंकज कुमार बंशलले सहकारीहरुको पहिचान संकटमा पर्ने गएको बताउँदै आर्थिक कारोबारको सीमा निर्धारण हुुनुपर्ने बताए । महासम्मेलन २५ गतेसम्म सञ्चालन हुनेछन् । कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुनेछन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १०:२३