सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बुधबार नेकपा माओवादी केन्द्रको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकर्मीहरुको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने, अर्थनीति कस्तो हुने, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो । समाजवादउन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’

‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी । यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो’ प्रधानमन्त्रीले भने, ‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ ।’

‘संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’ प्रधानमन्त्रीले भने, ‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ । सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन । त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण, परिचालन, बजारीकरण आवश्यक छ ।’

‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो । यसलाई ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ । उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन । कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए ।

आफूले कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको बताउँदै उनले चुनौती नै चुनौतीका बीचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको दाबी गरे ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार १३:३४