सहारा नेपाल साकोसले मनायो २८ औँ स्थापना दिवस, १५ अर्ब ५५ करोडको बासलात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहारा नेपाल साकोसले मनायो २८ औँ स्थापना दिवस, १५ अर्ब ५५ करोडको बासलात



काठमाडाैं । सहारा नेपाल साकोसले २८औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । हरेक जिल्लाका सेवा केन्द्रहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । विराटनगरको पुष्पलाल चोक सवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सहकारीका आमा समूहहरूको उपस्थिति थियो ।

आमा समूहका सदस्यहरूले सहकारीले हिजो अप्ठेरो परेको समयमा रगत दिएर बचाएकोले अहिले आफूले रक्तदान गर्न पाउँदा खुसी लागेको बताए । आमा समूहकी अध्यक्ष भगवती श्रेष्ठले रगतको मागलाई पूरा गर्न सहयोग गर्न पाएको भन्दै खुसी लागेको बताइन् ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष काजीबहादुर बस्नेतले केही सहकारीका कारण समग्र सहकारीलाई बद्नाम गराउन खोजिएको बताए । ‘अहिले पनि केही सहकारी भागेको केही झोलामा छ,’ उनले भने, ‘महानगरले त्यस्ता झोलाका सहकारीलाई महानगरले कारबाही गरेको छ ।’

सहकारीको माध्यमबाट राम्रो काम गर्ने सहकारी मध्ये सहारा सहकारी संस्था पनि रहेकोले यसले राम्रो काम गर्नु पर्छ, जनताको दुख सुख जनताको अप्ठ्यारोमा सजिलो गर्ने काममा सहकारीले भूमिका खेल्नुपर्छ भन्ने उदाहरणीय काम गरेकोमा उनले प्रशंसा गरे ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष सुरज न्यौपानेले सहकारी मार्फत असल काम गर्न सबैलाई अभिप्रेरित हुने गरी लाग्न आग्रह गरे । सहारा नेपाल सहकारीका अनुगमन अधिकृत ओम साहले सहारामार्फत नागरिकको सेवामा धेरै कामहरू भएको बताए ।

केन्द्रीय कार्यालय विर्तामोडमा रहेर विभिन्न जिल्लाहरूमा ८० वटा सेवा केन्द्र मार्फत सृजनशील रूपमा वार्षिक उत्साव मनाइएको बताए ।

१५ अर्ब ५५ करोडको बासलात

संस्थाको शेयर पुँजी १ अर्ब ६४ करोड २३ लाख, जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख रहेको जनाइएको छ । त्यस्तै अन्य कोषमा ४४ करोड ७१ लाख, बचत १० अर्ब ६६ करोड ७ लाख, लगानी रहित ऋण १२ अर्ब, भौतिक सम्पत्ति ५१ करोड ७० लाख र बाल्य ऋण १ अर्ब ५ करोड रहेको जनाएको छ ।

संस्थाको २०७९ माघ मसान्तसम्मको वासलात १५ अर्ब ५५ करोड पुगेको जानकारी दिइएको छ। यो संस्थाले चालु आर्थिक वर्ष भित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले जानकारी दिएका छन् ।

संस्थाले स्थापना दिवसमा महिला र पुरुष हाफ म्याराथन, खुला म्याराथन, रक्तदान, सरसफाइ, सामाजिक सेवा, ज्येष्ठ नागरिक हेरचाह कार्यक्रमको शुभारम्भ समेत गरिएको अतिरिक्त क्रियाकलाप समितिका संयोजक प्रशान्त भण्डारीले जानकारी दिए ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार १२:०२