उद्योग वाणिज्य महासंघमा भावी नेतृत्वलाई अवसर र चुनौति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

उद्योग वाणिज्य महासंघमा भावी नेतृत्वलाई अवसर र चुनौति



उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला नयाँ नेतृत्वको तयारीमा जुटेको छ । चैत २८ र २९ गते हुने महासंघको ५७औं साधारण सभाबाट महासंघले नयाँ नेतृत्व पाउनेछ । तर नेतृत्व हत्याउनका लागि मैदानमा रहेका व्यवसायीहरु दलीय प्रभावमा परेका कारण महत्वपूर्ण मुद्दाहरु ओझेल पर्ने हो कि भन्ने चिन्ता व्याप्त छ ।

सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमाले निकट भनिएका उम्मेदवारहरु खुलमखुल्ला रुपमा नेताहरुको घरदैलो गर्न व्यस्त छन् । दलकै निर्देशन अनुसार घोषणा पत्र तयार गर्ने, नेताहरुको आर्शीवाद थाप्ने र नेताहरुकै निर्देशनमा प्यानल घोषणा गर्ने गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् । सत्ता र शक्तिको नजिक रहेर संस्थाको नेतृत्व लिने मात्र होइन आफ्नो व्यवसाय फैलाउन सत्ता र शक्तिको उपयोग गर्ने मनसाय व्याप्त देखिन्छ । साझा संस्थामा दलीय प्रभाव किमार्थ जायज होइन ।

यस पटकको साधारण सभा र आगामी नेतृत्वले मुलुकको जोखिमपूर्ण अर्थन्तन्त्रलाई न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने देखि उद्योगी व्यवसायीहरुले व्यहोरिरहेको जोखिमपूर्ण अवस्था र देखिएका समस्याहरु समाधान गर्न चुनौति झेल्नुपर्ने छ ।

आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्नदेखि बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयका लागि बाणिज्य महासंघको नेतृत्व सक्षम हुनुपर्नेमा दुई मत रहेन । पूँजिगत खर्च हुन नसक्ने समस्या, तरलता अभाव, उच्च ब्याजदर जस्ता विकराल समस्याहरुले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा गुज्रिरहेको परिप्रेक्ष्यमा महासंघकले भूमिका देखाउनुपर्ने बेला आएको छ ।

महासंघ नेतृत्वका लागि तीनवटा समूह– उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेकाछन् । तीनवटै प्यानलको नारा र आगामी मुद्दाहरु तारिफयोग्य छन् । तर व्यवहारमा लागु गर्ने अर्थात कार्यान्वयनमा लैजाने भन्ने विषय प्रमुख रुपमा हेरिएको छ ।

मतदाता व्यवसायीहरुले हेर्ने भनेको मुद्दा कार्यान्वयन नै हो । उद्योग व्यवसायको भौतिक र पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग दबाबमुलक अभियान संचालन गर्न महासंघको महत्वपूर्ण भूमिका हुन्छ । यसतर्फ आगामी नेतृत्व सफल र सवल बन्नुपर्छ ।

निजी क्षेत्रले दिएका सुझावलाई सरकारले कार्यान्वयनमा नल्याउने, विभिन्न ऐन, कानुन, नीति ल्याएर व्यवसायीहरुलाई दुःख दिने गरेकाले आगामी नेतृत्वले व्यवसायीका पीडा सम्बोधन गर्न सक्नुपर्छ । राजनीतिक प्रभावका कारण महासंघको साख गिर्दो अवस्थामा रहेकाले साख उठाउने जिम्मेवारी पनि अबको नेतृत्व सक्षम हुनुपर्छ । पछिल्लो समय सरकारी नीति , कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण प्रशस्त समस्याहरु उत्पन्न भएका छन् ।

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन । बैङ्क वित्तीय संस्थालाई गाली गर्ने साथै नकरात्मक दृष्टिकोणबाट हेर्ने परिपाटीको विकास भएको छ । अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा असहज परिस्थिति सृजना भएको छ । यसका लागि दबाबमुलक कार्यक्रमहरुको आवश्यक्ता खड्किएको छ । अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । यसका लागि महासंघको आगामी नेतृत्व राजनीतिक पूर्वाग्रहबाट मुक्त र सक्षम हुनुपर्छ ।

प्रकाशित : २१ चैत्र २०७९, मंगलवार ११:३५