पाँच तारा साकोसद्धारा बृहत रक्तदान आयोजना, १ सय ३५ जनाले गरे रक्तदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पाँच तारा साकोसद्धारा बृहत रक्तदान आयोजना, १ सय ३५ जनाले गरे रक्तदान



काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं बार्षिकोत्सवको को अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको आयोजना, काठमाडौं बचत तथा ऋण सहकारी संघ(कास्कून) र ब्लोदान पुर्वी भेगीय क्षेत्रीय समिति कोटेश्वरको संयोजनमा कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा बोल्दै ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान)का केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतिले कोरोनाकाल पछि रक्तदान कार्यक्रमहरु सिथिल भएको भए पनि पछिलो समय रक्तदान गर्नेहरु बढेकाले रगतको अभाव नभएको बताए । कोभिड र डेंगु लागेपछि रक्तदान गर्न नहुने भएकाले रक्तदानमा केही कमी देखिएको उनले बताए । कोभिडको समयमा उपचारका लागि रगतको माग उच्च हुँदा रगत आपुर्तिमा केही कमी जस्तो देखिए पनि रगतको अभाव नै भने नभएको उनले जानकारी दिए ।

अहिले धेरै संघसंस्थाले रक्तदानको महत्व बुझिसकेकाले विभिन्न ठाउँमा रक्तदान कार्य भईरहेको उनको भनाई छ । अब नयाँ नयाँ रक्तदाताहरुलाई रक्तदान गर्नको लागि अभिप्रेरित गर्नुपर्ने र त्यसका लागि सबै संघ संस्थाले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । कतिपयले कसैले अनुरोध गरेका कारण रक्तदान गर्ने गरेको भए पनि उनीहरुलाई रक्तदान गर्नुको महत्वको बारेमा बुझाउन आवश्यक रहेको प्रजापतिले बताए । कसैलाई रक्तदान गर्न भन्नु भन्दा पहिला रक्तदानको महत्व, रक्तदान गर्दाको फाईदा र किन रक्तदान गर्ने भन्ने जस्ता विषयमा बुझाउन आवश्यक छ । सबैमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन सके अझ प्रभावकारी हुनेमा उनको जोड छ । अन्तरक्रिया वा पत्रकारिताको माध्यमबाट ब्लोदानले रक्तदानको महत्वको बारेमा सर्वसाधरणलाई जानकारी दिदै आएको उनले जनाए । काठमाण्डौ उपत्यकामा शनिबार मात्रै ५० औं ठाउँमा रक्तदान हुने गरेको भन्दै अब हरेक संघसंस्थाले हप्ताभरी नै रक्तदान आयोजना गर्नु उचित हुने उनले बताए ।

ब्लोदानको आव्हानमा साप्ताहिक रुपमा नै विभिन्न संघसंस्थाले रक्तदान गर्दै आएको उनले बताए । रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा स्वंयसेवी संस्थाहरुको प्रयासले मात्रै नपुग्ने भएकाले सबैको सहकार्य जरुरी रहेको प्रजापतिले बताए । यस अघि नेपाल रेडक्रस सोसाइटीले मात्रै रक्तदान गर्दैै आएकोमा राष्ट्रिय रक्तदाता नीति २०७१ आए पछि अन्य निकायहरुले पनि रक्तसञ्चार सम्बन्धी कार्य गर्न बाटो खुलेको हो । स्थानीय सरकारले रक्तदानलाई केही प्राथमिकता दिएको र कतिपय स्थानिय तहले त रगत निशुल्करुपमा उपलब्ध गराउन थालेको उनको भनाई छ । केन्द्रिय सरकारले रक्तदान गर्ने संघसंस्थालाई अभिप्रेरित गर्ने, नियमित रक्तदान गर्ने वातावरण बनाउने तथा स्वयंसेवी रक्तदाताहरु बढाउनेतर्फ लाग्नु पर्नेमा उनको जोड छ ।
अहिले कूल जनसंख्याको १ प्रतिशतले मात्रै रक्तदान गर्दै आएका छन् । रक्तदान सम्बन्धी जनचेतनाको कमीले धेरै मानिसले रक्तदान गर्न नचाहेको उनले प्रष्ट पारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बाहेक पनि रक्तदान गर्न स्थानिय तह र संघ संस्थालाई आव्हान गर्न उनको सुझाब छ । काठमाडौंमा ठुल्ला अस्पताल रहेकाले रगतको माग बढी रहेको भन्दै उनले विरामीलाई बचाउन रगतको पनि त्यतिकै महत्व भएकाले सबैलाई रक्तदान जस्तो पवित्र कार्यमा लाग्न आग्रह गरे ।

कास्कूनका सचिव बीरेन्द्र भण्डारीले ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर धेरै सहकारी संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेको जनाए । हरेक तीन–तीन महिनामा नयाँ रगत बन्ने र खेर जाने रगत दान गर्न सके अरुको जीवन बचाउन सकिने हुँदा सबै रक्तदान गर्नुपर्ने बताए । सहकारी क्षेत्रले रक्तदानको क्षेत्रमा राम्रो भुमिका खेलका र रगतको व्यस्थापनमा महत्वपुर्ण योगदान पु¥याएको उनको भनाई छ । ब्लोदानको संयोजनमा कास्कूनले विगतमा हप्तैपिछे रक्तदान गर्दै आएको भएपनि अहिले विविध कारणले निरन्तरता दिन नसकेको र निकट भविष्यमा नै प्रत्येक हप्ता सहकारीमार्फत् रगत संकलन गर्ने उनले बताए ।

कास्कूनले रक्तदान गर्न चाहने संंस्थाहरुलाई सहजिकरण गरिदिने भन्दै उनले सबै सहकारीलाई रक्तदान कार्यक्रम गर्न आग्रह गरे । सहकारीले समुदायका मानिसहरुलाई एकाकार गरेको भन्दै रक्तदान गर्न सजिलो हुने उनले बताए ।
पाँच तारा साकोसका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले मानवीय सेवा पु¥याउने उदेश्यले रक्तदान आयोजना गरिएको उल्लेख गरे । बिरामीको उपचारको लागि आवश्यक पर्ने रगत अभावलाई केही मात्रामा भएपनि पूर्ति गर्ने उद्देश्यले संस्थाले हरेक बर्ष सहकारी दिवसको अवसर पारेर रक्तदान गर्दै आएको उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले १ सय ३५ जनाले रक्तदान गरेको बताए । संस्थाले विगत १४ वर्षदेखि सहकारी दिवसको अवसर पारेर निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाले रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए । रक्तदान जस्तो पवित्र कार्यमा युवाहरुलाई समेत आकर्षित गर्न सकेको भन्दै अध्यक्ष पाठकले यस पटक ४० जना युवाले पहिलो पटक रक्तदान गरेकोमा खुशी ब्यक्त गरे । युवाहरुलाई रक्तदानमा जोड्न सके रगत अभाव न्युनिकरणमा ठूलो टेवा पुग्ने भन्दै उनले यसका लागि राज्यले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । संस्थाले रक्तदातहरुलाई अभिप्रेरित गर्ने उदेश्यले प्रमाण पत्र र टिसर्ट उपलब्ध गराएको थियो ।

संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई पाँच पटक भन्दा बढी रक्तदान गर्ने ब्यक्तिहरुलाई चाँदीको सिक्का र दोसल्ला ओढाएर सम्मान गर्ने गरेको छ । संस्थाले सहकारी दिवसकै अवसर पारेर महिलाहरुको लागि स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । शिविरबाट ५० जना महिलाले विशेष परिक्षण र ३० जनाले साधारण परिक्षण गराएको संस्थाले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार १५:२९