राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकद्धारा नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशकालागि छनौट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीलाई सोमबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम काठमाण्डौमा सञ्चालन गरिरहेको छ।

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुई हप्ताको तालिमबाट प्राप्त हुने व्यवहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगी संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए। उनले अन्य प्रदेशका सहायक स्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीयुक्त हुने बताए।

कार्यक्रममा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोगमार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए।

कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम सपथ गराएका थिए।

कार्यक्रममा बैंककी विभागीय प्रमुख पद्यमालक्ष्मी जीसी, मानव संशाधन विभागकम उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा छन्।

प्रकाशित : २० चैत्र २०७९, सोमबार १३:५१