सहकारी दिवसको कार्यक्रममा सहभागी हुन बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सहकारी दिवसको कार्यक्रममा सहभागी हुन बैंकको आग्रह



ललितपुर । ६६ औं राष्ट्रिय सहकारी दिवस सन्दर्भमा उपत्यकामा हुने विभिन्न कार्यक्रम सहभागी हुन राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघरसंस्थाका प्रतिनिधिहरूलाई एसएमएस मार्फत अनुरोध गरेको छ ।

दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे उपत्यकाको विभिन्न स्थानबाट निकालिने र्याली तथा कार्यक्रममा आइतबार संघरसंस्थाका पदाधिकारी तथा सहकारीकर्मीहरुलाई मोबाइलमा एसएमएस पठाएर तोकिएको स्थानमा बिहान ७ बजे ब्यानर सहित अनिवार्य उपस्थित हुन आग्रह गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।

त्यसै गरी बैंकले चैत्र १७ गते आफ्ना सदस्य सहकारी संघरसंस्थाका प्रतिनिधिहरूलाई टेलिफोन, इमेल, सामाजिक सञ्जाल ९मेसेन्जर ग्रुप, भाइवर ग्रुप, व्हाट्सएप ग्रुप आदि० लगायतका माध्यमबाट पनि दिवसमा सहभागिता जनाउन देशभरिका सहकारीकर्मीहरुलाई आग्रह गरेको थियो । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइने गरिएको छ ।

हरेक वर्ष झैँ यस वर्ष पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आव्हानमा “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने थिम (नारा) लाई सार्थक बनाउने गरी सहकारीका समसामयिक मुद्दाहरूलाई उजागर गर्न विभिन्न कार्यक्रमहरू साथ मनाइने बैंकले जनाएको छ ।

उक्त योजना अनुसार सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय कार्यालय सहित सबै शाखा कार्यालयहरूको सहभागितामा मनाइने बैंकले जनाएको छ ।

महासंघको अगुवाइमा हुने कार्यक्रममा उपत्यका भित्रका शाखा कार्यालय अन्तर्गत सदस्यता लिई कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई काठमाडौँ उपत्यका केन्द्रित प्रभात फेरी कार्यक्रममा तोकिएको स्थानमा उपस्थित भई माइतीघर मण्डलामा हुने कोण सभामा उपस्थिति हुनको लागि अनुरोध गरेको छ ।

त्यसै गरी उपत्यका बाहिरका शाखा कार्यालय अन्तर्गतका सहकारीकर्मीहरुलाई स्थानीय स्तरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउन बैंकले आग्रह गरेको छ ।

दिवसको कार्यक्रमलाई देशव्यापी बनाउन राष्ट्रिय सहकारी महासंघले गत बुधवार पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र केन्द्रीय सङ्घहरूमार्फत र्याली सहित सम्पूर्ण सहकारीकर्मीहरुलाई माइतीघर मण्डलामा उपस्थितिका लागि आव्हान गरेको थियो ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १७:०३