फेरि बढ्यो कोरोनाको जोखिम, रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

टिप्स

फेरि बढ्यो कोरोनाको जोखिम, रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दोजुल्दो देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्रै १ हजार ४२९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । चैत १३ गते पनि १ हजार २६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो ।

यो सँगै अहिले नेपालमा सक्रिय सङ्क्रमितको संख्या ७८ पुगेको छ । यता, मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन आग्रह गरेको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार १२:०५