काठमाडौँ । पूर्व राज्यमन्त्री तोषिमा कार्कीले राज्यले अपाङ्गता भएकाहरूको पिडा नबुझेको टिप्पणी गरेकी छिन् ।
बैङ्क तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यले अपाङ्गता भएकाहरूको लागि बनेका नीति नियम कार्यान्वयनमा सरकार उदासीन भएको आरोप समेत लगाइन् ।
उनले भनिन् ‘अपाङ्गता भएका व्यक्तिहरूमा विशेष क्षमता छ । यो विषयमा सरकारका सम्बन्धित निकायले ध्यान दिएका छैनन् । अपाङ्गता भएका व्यक्तिहरूको लागि बनेको नियम कानुनहरु कार्यान्वयन भएको छैन । नियामक निकायहरू बलियो नहुनाले हो । जसको लागि हक अधिकारको वकालत गरिनुपर्ने हो त्यो आवाज नसुनिदिनाले हो । हामी अन्धो नभएकाहरूले देख्नुपर्ने धेरै समस्याहरू रहेछन् । ’
सोही कार्यक्रममा बोल्दै नेत्रहीन महिला संघ नेपालका सल्लाहकार मिरा अधिकारीले अपाङ्गता भएका महिलाहरूलाई समाजले केही गर्न सक्दैन भन्ने मानसिकताले व्यवहार गर्ने गरेको बताइन् । चुनौती हरेक क्षेत्रमा हुने गरेको र त्यसको सामना गर्न प्रत्येक अपाङ्गता भएकाहरू तयार रहनु पर्ने उनको भनाई छ । अपाङ्ग भएका महिलाहरूको अधिकार, प्रवर्द्धन, वित्तीय न्याय र समावेशीकरणका लागि राज्य र समाजले हेर्ने दृष्टिकोण नै फरक भएको र काम गर्न चाहनेले पनि काम पाउन नसकेको उनको भनाई छ ।
अपाङ्गता भएकै कारण तालिम लिएकाहरूले समेत काम नपाएको गुनासो गर्ने गरेको उनले बताइन् । त्यस्तै कतिपय व्यक्तिले तालिम लिन चाहे पनि आर्थिक अभावका कारण समस्या भएको उनीहरूको भनाई छ ।
Comment