बैंक विरुद्ध आन्दोलन गरेर समस्याको समाधान हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक विरुद्ध आन्दोलन गरेर समस्याको समाधान हुँदैनः वरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन । बैंकलाई पनि असजिलो छ । व्यवसायीहरुलाई झन धेरै असजिलो छ । सरकारको पनि राजश्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ।’

उनले महासंघ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले महासंघको आगामि नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।

‘अहिले कुनै व्यक्तिको जित हारको अस्वस्था छैन । समग्र अर्थतन्त्रको जित हारको अवस्था हो । हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ । यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ । त्यसैले हामी सबै एक हुनुको विकल्प छैन । सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन । म साथीहरुलाई भन्न चाहन्छु । एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन’ उनले भने ।

उनले सरकार तथा राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो गरे । ‘अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था छैन । नयाँ संविधान आइसकेपछि हामीलाई लागेको थियो, अब सायद राजनैतिक एजेण्डा सकिए । आर्थिक एजेण्डाले प्राथमिकता पाउनेछन् । तर, राजनैतिक दलको व्यवहारमा आर्थिक एजेण्डा प्राथमिकतामा नपरेको महशुस हुन्छ,’ ढकालले भने ।

बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै उनले बैंक विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए ।

‘बैंकको विरुद्धमा आन्दोलनका कार्यक्रमहरु भएका छन् । मलाई लाग्छ, आन्दोलनबाट मात्र अहिलेको समस्या समाधान हुन सक्दैन । अहिलेको असहज परिस्थितिमा आन्दोलन भन्दा वार्ता, छलफल र सहकार्यबाट यसको सहज समाधान निस्कन सक्छ,’ उनले भने ।

कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उनले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए ।

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए । अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै उनले अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे ।

‘वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,’ उनले भने ।

प्रकाशित : २८ फाल्गुन २०७९, आईतवार १४:३९