राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । यी दुईबीच सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्था बीचको सुमधुर सम्बन्धलाई भविष्यमा अझ थप मजबुत बनाउदै डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघि देखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम गर्ने तयारी छ । यसका साथै राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई कम्प्युटराइज गभरमेन्ट अकाउन्टिङ सिस्टम प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउंदै आएको छ ।

यस कार्यलाई निरन्तरता दिदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने भनिएको छ । अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले समिसन नम्बर तथा कार्यालय कोड सहितको पेमेन्ट स्लिप र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले समिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन् । यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरुको खातामा सोझै रकमहरु जम्मा हुने हुदाँ सहज हुने विश्वास गरिएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार १५:३१