कर्मचारीलाई कालो मोसो दल्नु अमानवीय र अराजकताकाको पराकाष्ठ: लघुवित्त बैंकर्स संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

कर्मचारीलाई कालो मोसो दल्नु अमानवीय र अराजकताकाको पराकाष्ठ: लघुवित्त बैंकर्स संघ



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले कर्मचारीलाई कालो मोसो दल्नु अमानवीय र अराजकताकाको पराकाष्ठ भएको बताएका छन् । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायमाथि मंगलबार भएको दुर्व्यवहारप्रति संघले गम्भीर आपत्ति जनाएको हो ।

उपाध्यायमाथि अज्ञात समूहले कुटपिटसहित कालोमोसो दलेर अपमानजनक व्यवहार गर्नुका साथै समूहबाट संकलन भएको रकमसमेत लुटेर फरार भएको थियो ।

संघले विज्ञप्ती जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुले विगत ३० वर्षदेखि ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई बिनाधितो कर्जा उपलब्ध गराएर जीवनस्तर माथि उकास्न निरन्तर लाग्ने क्षेत्रमाथि भएको उक्त कार्य अमानवीय भएको उल्लेख गरेको छ ।

‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गरिबी न्यूनीकरण र महिला शक्तिकरणका लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथि भएको यो कारवाही अमानवीय र अराजकताको पराकाष्ठा हो । यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिएका लघुवित्त वित्तीय संस्थाका कर्मचारीका लागि त शान्ति सुरक्षा झनै आवश्यक पर्ने भएकाले सुरक्षित रुपमा काम गर्ने वातावरणको सुनिश्चतता गर्न सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकसँग संघले अपिल गरेको छ ।

संघका अध्यक्ष प्रकाशराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनमानसमा नकारात्मक प्रभाव पार्ने, देशमा अराजकतालाई बढवा दिने, आर्थिक अस्थिरता निम्त्याउने र देशको अर्थतन्त्र नै दुर्घटनाग्रस्त हुने सम्भावना हुँदा यस्ता गतिविधि तत्काल बन्द गरी शान्तिपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछौं ।’

प्रकाशित : १८ फाल्गुन २०७९, बिहीबार ११:०५