ग्लोबल आइएमई समुन्नत योजना-१ खारेज हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई समुन्नत योजना-१ खारेज हुँदै



काठमाडौं । ग्लोबल आइएमई क्यापीटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना-१’ खारेजीमा जाने भएको छ। योजनाको अवधि समाप्त भएकोले यो योजना आगामी चैत्र ११ गते बाट खारेज हुने भएको हो।

योजना व्यवस्थापकका अनुसार सामूहिक लगानी कोष नियमावली, २०६७ मा भएको व्यवस्थाअनुसार योजना खारेजीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई जानकारी दिइसकेको छ ।

सात वर्ष अवधि रहेको बन्दमुखी प्रकृतिको यो योजनाले २०७२ साल माघ १३ गते सञ्चालनको अनुमति पाएको थियो । योजना खारेजी प्रक्रियाका लागि चैत ९ गते बिहीबारसम्म कायम इकाईधनीहरूलाई योग्य गराइने योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

योजना खारेजीपश्चात् योजनाअन्तर्गतको सम्पत्ति नगदमा परिणत गरी इकाईधनीहरूको स्वामित्वको आधारमा भुक्तानी दिइने जानकारी योजना व्यवस्थापकले गराएको छ । माघ मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा योजना २५ करोड ५३ लाख ५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

एक अर्ब आकारमा १० करोड इकाई जारी गरेको उक्त योजनाको खुद सम्पत्ति माघ मसान्तसम्म १ अर्ब ४ करोड ५४ लाख ७२ हजार रुपैयाँ छ ।

योजनाका इकाईहरू खरीद गरी हालसम्म पनि आफ्नो इकाई अभौतिकीकरण नगराएका इकाईधनीहरूलाई यथाशीघ्र इकाई डिम्याट गराउन समेत योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले अनुरोध गरेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७९, बुधबार १६:१६