एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउनेछन् सेयर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एसियन हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउनेछन् सेयर ?



काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ फागुन १४ गते आइतबार बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे हुने जनाइएकाे छ।

कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो।

अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको थियो। बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन्। यो आईपीओमा निष्कासको अन्तिम साँझ ५ बजेसम्म १३ लाख १८ हजार ७९८ आवेदकबाट १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन मागभन्दा २१.०६ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रकाशित : 24 February, 2023 3:54 pm