साना व्यवसायीले २ करोडसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्न पाउने (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना व्यवसायीले २ करोडसम्मको कर्जालाई पुनर्तालिकीकरण गर्न पाउने (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसायीले २ करोडसम्मको कर्जाको पुन:संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

जसअनुसार अब साना तथा मझौला व्यवसायीले सहुलियत पाएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने भएको छ । त्यसक्रममा ऋणीले बुझाउनु पर्ने ब्याजको १० प्रतिशत रकम भने असुल उपर गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तो पुनर्तालिकीकरण र पुनर्संरचना २०८० असार मसान्त भित्र गरिसक्नु पर्ने भएको छ । यसरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्ने समेत राष्ट्र बैंकले शर्त तोकेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जालाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न समेत राष्ट्र बैंकले शर्त राखेको छ । स्पष्ट आधारविना यस्ता गतिविधि गरिएको पाइएमा भने कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने समेत तोकिएको शर्तमा उल्लेख छ ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १५:४१