सेयर बजार ५७.७४ अंकले घट्यो, ३७ लघुवित्त कम्पनीमा नकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार ५७.७४ अंकले घट्यो, ३७ लघुवित्त कम्पनीमा नकारात्मक सर्किट



काठमाडौं । नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार भारी अंकले गिरावट आएको छ । आज नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ११.९५ अंक, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंक घटेको छ।

बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्रि हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा आज कारोबार भएको सबै समुहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक २४.२२, विकास बैंक ५३.०९, वित्त ४२.७८, होटल ९८.३२, जलविद्युत ५८.०७, जीवन बीमा २१८.७०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १०२.३१,
माइक्रोफाइनान्स ४१२.०२, निर्जीबन बीमा १९८.९२,अन्य समूहको उपसूचक ३०.४१ र ट्रेडिङ समूहको उपसूचक ४५.२१ अंकले घटेको छ ।

पछिल्लो केही समययता लघुवित्त कम्पनीहरुका कारण ऋणीहरु समस्यामा परेका घटनाहरु बाहिर आइरहेका छन् । बुधबार राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुका लागि निर्देशिका जारी गर्दै लाभांश वितरणमा कडाई गर्ने नीति लिएको छ । जसका कारण लघुवित्तका लगानीकर्ताहरु थप प्यानिक बनेको देखिन्छ । आज ३७ वटा लघुवित्तको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने ८ वटा लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी नेपाल हाइड्रो डेभलोपर्स र सापलिङ्ग पावर कम्पनीको शेयरमूल्य बढेको छ।

कारोबार रकमका आधारमा आज छिमेक लघुवित्त शीर्ष स्थानमा रहेको छ। यस लघुवित्तको ८ करोड ७० लाख ७३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ

प्रकाशित : ११ फाल्गुन २०७९, बिहीबार १५:३९