लघुवित्त पीडितको आक्रोश: ‘सरकार ! ५८ लाख महिलालाई एकै ठाउँमा राखेर बम हान्दे,अब बाच्न सक्दैनौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्त पीडितको आक्रोश: ‘सरकार ! ५८ लाख महिलालाई एकै ठाउँमा राखेर बम हान्दे,अब बाच्न सक्दैनौं’



काठमाडौं । लघुवित्तहरूले शोषण गरेको भन्दै पछिल्ला दिनमा ऋणीहरु आक्रोशित बनेका छन । विभिन्न सेवा सुविधाका नाममा शुल्क धेरै लिने, सीमाभन्दा माथि ब्याजदर लिने गरेको आरोप ऋणीहरुको छ । लघुवित्तले सोझा साझा सर्वसाधारणहरुलाई झुक्याएर लुट मच्चाएको, आत्महत्या गर्न बाध्य हुनुपरेको देखि घर छोडेर भाग्नुपर्ने अवस्था समेत सिर्जना गरेको उनीहरूको आरोप छ।

अहिले लघुवित्तले ऋणमा १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैनन । सेवा शुल्क १.५ प्रतिशत भन्दा बढी लिन पाउँदैनन । योभन्दा माथि गएर शुल्क लिए सदस्यहरुले नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सक्ने प्रावधान छ । तर,सिराह, रौतहटलगाएत विभिन्न जिल्लाका महिलाले भने आफूहरुबाट १५ प्रतिशत भन्दा बढि लघुबित्तले ब्याज लिने गरेको बताएका छन्। यतिमात्र नभएर घरमा आई दिनैपिच्छे मानसिक तथा शारीरिक तनाव समेत दिने गरेको उनीहरूको आरोप छ।

सिरहा जिल्ला गोलबजार–६ की पुनम कुमारी महतो भन्छिन्,‘सुरु सुरुमा लघुवित्त संस्थाहरू गाउँघरमा जाने महिला दिदीबैनीलाई लोभ लालच देखाउने गर्छन् । जसमा कतिपय परिवारको सहमतिमा लघुबित्तको ऋणी बनेका छन कतिपय परिवारलाई थाहै नदिई ऋणी छन। सुरुमा १० देखि २५ हजार ऋण दिन्छन। १० हजार ऋण लिएकाको सुरुमा ६५० सेवाशुल्क भनेर काट्छन्। बाँकी रहेको नौं हजार ४५० रुपैंया पैसा लिएर सानो तिनो व्यापार गरेपनि घरपरिवार पाल्न र किस्ता तिर्न पुग्दैन। जसले गर्दा साहुकोमा ऋण माग्न पुग्नुपर्छ। साहुकोमा पैंसा चुक्ता नहुन्जेल एक हजार रुपैयाँ ऋण लिँदा दिनको १५० रोज दिनुपर्छ।

एक महिनामा एक हजारको तीन हजार दियो भने उसको एक हजार बाँकी हुन्छ। जुन तिर्न फेरि अर्को लघुवित्तमा जानुपर्छ। त्यहाँबाट ५० हजार लियो भने तिर्ने पैसा हुँदैन फेरि साहुकोमा जानुपर्छ। मैंले निर्धन, नेशनलबाट कर्जा लिएकी थिए । निर्धनको मुकेश भन्ने सर आफैँ मिटर ब्याजमा पैसा लगाउँछन् । त्यहाँ खातुन भन्ने बैनी पनि छिन् । उनीहरु मेरो घरमा पनि आउने गर्थे, उनी पनि मिटर ब्याजमा पैसा लगाउँछिन । मैले हरेक पहिना पैसा तिरे । जति तिरेपछि सकिएन ।’

उनले एउटाबाट अर्को अर्कोबाट अर्को लघुवित्त र मीटर ब्याजले २०७२ सालदेखि थला परेको बताइन्। ज्याजति पनि यतिसम्मकी ८ बजे राति चोकमा कुटपिट गरी १५ लाखको तमासुक बनाएको गुसानो उनको छ। यतिमात्र नभएर ९ बजे रातिसम्म पैसा लिन घरमा आएर ढुकीरहने, नदिए दुव्र्यवहार गर्ने नानाथरी बोल्ने गरेको उनले बताइन्। उनले भनिन्,‘लघुबित्तले कर्मचारी राखेको होकि तानाशाही ?’

सिरहा देबीपुरकी श्याम कुमारी चौधरीले पनि नेशनल लघुवित्तसँग ऋण लिएको र जति नै तिरेपनि नसकिएको गुनासो गरिन । एक लाख ऋण लिएको लामो समयसम्म पनि कर्जा तिर्दा अझै ६० हजार बाँकी रहेको उनको गुनासो छ । नेशनलका कर्मचारीले कर्जा उठाउन आउने गरेको सुनाउँदै उनले भनिन्,‘राति ९ बजे घरमा आउने, अभद्र व्यवहार गर्ने, समयमा पैसा नतिरे बाख्रा, भैंसी, गरगहना जे भेट्यो त्यही उठाउने गरेका छन् ।’ जति नै तिरेपनि नसकिएपछि अहिले आफु लघुवित्तकै कारण घर छोडेर भागेको बताइन् ।

लघुवित्तकी अर्की पीडित सुनिता बिश्वकर्माले पनि लघुवित्तसँग कर्जा लिएकी छिन् । एक लाख लिएको पटक पटक तिर्दा पनि एक लाखकै ब्याज तिर्नुपरेको उनले बताइन्। कर्जा जति नै तिरेपनि नसकिँदा माइक्रोफाइनान्सले गाई, भैंसी, गहना, बाख्रा सबै उठाएको गुनासो गरिन् । एक लाख कर्जा लिएको, त्यसको सावा ब्याज गरी हरेक महिना १२ हजार तिर्ने गरेको र बर्षमा १३ पटक किस्ता तिर्नुपरेको गुनासो गरिन् । उनले करिब दर्जन संस्थासँग कर्जा लिएको बताइन् ।

यस्तै, सिरुटारकी कमला मोक्तानले कोरोना अघि स्वाबलम्बन लघुवित्तबाट एक लाख ऋण लिएकी थिइन् । एक लाख लिँदा ८५ हजार उनको हातमा पर्यो । उनले जति नै तिरे पनि साँवा अझै ४९ हजार तिर्न बाँकी छ । ‘जति तिरेपनि पैसा तिर्न सकिएन’ उनले भनिन् ‘लक्ष्मी लघुबित्तबाट लिएको थिए, जति तिरेपनि सकिएन । अझै ४९ हजार बाँकी भन्छन् । मेरो बचत रकम पनि छ, त्यसबाट घटाउन मान्दैनन् । साथीले लिएको पैसा पनि मलाई नै तिर्नु भन्छन् ।’

उनले स्वाबलम्बन लघुवित्तबाट पनि कर्जा लिएको रहेछ । ‘एक दिन स्वालम्बनका कर्मचारी पैसा नतिरे पसल उठाउँछु भनेर आए’ उनले भनिन् ‘मैले जति किस्ता घटाएपनि उनीहरुको खातामा घट्दो रहेनछ् । सक्छौ भने पसल नै उठाउनु भनेको छु । त्यसपछि आएको छैन ।’ मोक्तानले सूर्योदय वमी लघुवित्तबाट पनि एक लाख ऋण लिएको रहेछ । एक लाख लिँदा १७ हजार पाँच सय संस्थाले राखेको,  दुई हजार बचत गराएको र आफुलाई भने एक लाखकै ब्याज लिने गरेको गुनासो गरिन । लघुबित्तले सुरु सुरुमा घर घरमा गएर जबर्जस्ती कर्जा दिएको र अहिले ऋणीको उठीबास लगाउन लघुवित्तहरु लागि परेको उनको गुनासो छ ।

यस्तै गुल्मीकी शिखा रेग्मीको पनि गुनासो उस्तै छ । उनले पनि ग्लोबल माईक्रोफाइनान्सबाट एक लाख कर्जा लिएको रहेछ । कर्जा तिरिसकिछन् । तर संस्थाले कर्जा तिरेको छैन भन्दै बचत फिर्ता गरेको उनले बताइन् । उनका अनुसार त्यहाँ अरुले लिएको ऋण कि आफैं तिर, कि तिर्न लगा भनेपछि आफु मानसिकरुपमा विक्षिप्त भएको बताइन् ।

‘आफुले लिएको ऋण तिरिसकें । अरुले लिएको कर्जा नतिरे भैंसी, बाख्रा उठाउँछु, बिदेशमा भएको बुढालाई निकालिदिन्छु भन्छन्, मेरो बचत फिर्ता दिएन’ उनले भनिन् ‘लघुवित्तले धेरै तनाब दिएपछि सहन नसकेर मर्न डोरी लिएर हिँडेको, गाउँका एक जनाले त्यसो गर्नुहुँदैन, समस्या समाधान गर्नुपर्छ भने । तर, समस्या समाधान भएन ।’ उनी अहिले सातवटा संस्थामा कारोबार गर्छिन् । अधिकाशले किस्ता तिर्दापनि साँवा नघटाउने गरेको उनको गुनासो छ ।

यस्तै पनौती नगरपालिका १२ की प्रिया खत्री आफुलाई लघुवित्तले जबरजस्ती फसाएको दाबी गर्छिन् । ऋण चाहियो भनेर लघुवित्तमा माग्न गएको होइन’ उनले भनिन्, ‘ऋण दिए, दिएपछि तिर्नैपर्यो । तत्काल आम्दानी हुने स्रोत हुँदैन । एक लाख ऋण लिँदा ९५ हजार दिन्छु भन्छन् । पछि ८५ हजार मात्रै हातमा पर्छ । ब्याज एक लाखको लिन्छन ।’ उनले आफुले मिरमिरे र स्वाबलम्बनबाट कर्जा लिएको बताइन् । ऋण तिर्ने स्रोत नहेरी ऋण दिँदा समस्या बढेको उनको बुझाइ छ ।

‘जति तिर्दा पनि साँवा घट्दैन, एक लाख कर्जा लिँदा हातमा ८५ हजार रुपैयाँमात्रै पर्छ, ब्याज एक लाखकै लिन्छन्,’ उनले भनिन् ‘माईक्रोफाईनान्सको ज्यादतीले ऋण तिर्न सकिएन, माइक्रोफाइनान्सबाट कर्जा लिएका ५८ लाख महिलालाई एकै ठाउँमा राखेर बम हानेर मार्दे सरकार, अब हामी बाँन्च सक्दैनौं, घर परिवार, लघुवित्त र समाजको तनाब बोकेर बाँच्न सक्दैनौं ।’

रौतहट जिल्लाकी दिलकुमारी कार्कीको झन पीडादायक दुःख छ। उनले भनिन्, ‘माइक्रोफाइनान्सबाट कर्जा लिएकी थिएँ, माइक्रोफाइनान्सका मिटरब्याजी राधेश्याम शाहसँग लिएको चार लाख २६ हजार ऋण समयमै तिर्न नसक्दा विभिन्न बाहनामा मिटर ब्याजीले भएभरको सबै सम्पत्ति खायो । तिर्न बाँकी रहेको १० लाख तिर्नु पर्ने थियो ।

लघुवित्तबाट कर्जा लिएर तिरौं न त भनेर विभिन्न आधा दर्जनभन्दा बढी लघुवित्तबाट कर्जा लिइन्, त्यो कर्जा तिर्दै थिइन् जति तिरेपनि सकिएन, मान्छे बारम्बार कर्जा उठाउन घरमा आउने, तनाब दिने, राति बिहान सँधै तनाब दिने गरेपछि त्यो देखेर तनाब झेल्न नसकेर छोरीले आत्महत्या गरिन्,’ उनले आँसु पुछ्दै भनिन् ‘मर्न त मलाई पनि कहाँ मन नलागेको हो र तर, यसो सोचे, सानो छोराको अनुहार हेरे’, आँसु बगाउँदै उनले भनिन्, ‘साथमा छोरो छ, जस्तो सुकै समस्या आइपरेपनि समाधान गर्छु भनेर आत्महत्या गरिन, अहिले सहरमा भाडा माझेर परिवार पालेकी छु, जति तिरेपनि नसकिने लघुवित्तको कर्जा तिरिरहेकी छु ।’

उनले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण निकाल्दा ८५ हजार मात्रै हातमा पर्ने कर्जाको ब्याज भने एक लाख रुपैयाँकै तिर्नुपरेको गुनासो गरिन् । जति तिरेपनि सकिएन, फर्वार्ड, मेरो माईक्रो, मिथिला, डिप्रोक्स, साना किसान लघुवित्तबाट कर्जा लिएर मैले व्यक्तिगत रुपमा लिएको कर्जा तिरे’ उनले भनिन्, ‘सबैको कर्जा तिरिरहेको छु, ‘तै पनि जति नै तिरेपनि सकिएन । सावा, ब्याज केही पनि घटेन, यो गुनासो कसलाई सुनाउनु।’

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले ‘नवसामन्ती’ को रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता ५ बुँदे माग राखेर करिब एक बर्षदेखि आन्दोलनरत रहेका थिए ।

उक्त आन्दोलन गत पुस ५ गते नेपाल लघुवित्त बैंकर्स संघसंग १२ बुदे सम्झौता भएपश्चात स्थगित गरेका छन । सम्झौतामा लघुवित्त वित्तीय संस्थाको लगानीलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताइएको छ ।

– लगानीलाई उत्पादनमा आधारित बनाई किस्ता निर्धारण तथा व्यवसायजन्य लगानी सुरक्षाको लागि बिमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

– ऋणी सदस्यसँग कर्जा असुली गर्दा मानवीय र सम्मानजनक व्यवहार गर्दै स्वस्थ लघुवित्त सम्बन्धी अभ्यास कार्यान्वयन गर्ने ।

– कर्जा प्रदान गर्दा बहुबैकिङ कारोबार नहुनेगरी कर्जा सूचना केन्द्र मार्फत् जानकारी लिई राष्ट्र बैंकले जारी गरेको सीमाभित्र रहेर कर्जा प्रवाह गर्ने ।

– आफ्नो लक्ष्य हासिल गर्ने प्रयोजन वा अन्य प्रयोजनले अनावश्यक कर्जा लिन दवाव नदिने ।

– बहु बैंकिङ कर्जाको कारणले समस्यामा परेका सदस्यहरुलाई उनीहरुको आम्दानीको अवस्था हेरी किस्ता भुक्तानी सहजीकरणको लागि कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने ।

– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भएमा त्यस्तो कर्जा पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्दा हाल लिई रहेको १.५ प्रतिशत सेवा शुल्कको २० प्रतिशत मात्र लिने गरी कार्यन्वयनको लागि राष्ट्र बैंकसँग अनुमतिको लागि अनुरोध गर्ने ।

– ग्रामिण क्षेक्रमा देखिएको आर्थिक विचलनलाई क्रमिक रुपमा कम गर्दै लैजान लघुवित्त वित्तीय संस्थाले स्थापना गरेको सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षण कोषलाई अझ प्रभावकारी रुपमा परिचालन गर्ने ।

– लघुवित्त वित्तीय संस्थाको प्रतिशाखा पाँच जना विपन्न ग्राहक सदस्यहरुको छोरारछोरीहरुलाई सरकारी आधारभूत तथा माध्यमिक विद्यालय तहसम्मको छात्रवृत्ति ब्यवस्था गर्ने ।

– वित्तीय संस्थाले कर्मचारी पदपूर्ति गर्दा ग्राहक सदस्यहरुका छोरारछोरीहरुलाई योग्यता र क्षमताको आधारमा प्राथमिकता दिने ।

– संस्थामा आवद्ध ग्राहक सदस्यहरुले सम्बन्धित वित्तीय संस्थाको दोश्रो बजारबाट सेयर किन्न चाहेमा उक्त कार्यको लागि नजिकको शाखाले आवश्यक सहजीकरण गरिदिने ।

– नेपाल सरकारले दिँदै आएको अनुदानमा आधारित कर्जालाई लघुवित्त वित्तीय संस्था मार्फत ग्रामिण तथा पिछडिएको समुदायमा लगानीका लागि दुवै सम्झौता पक्षधरहरुले सम्बन्धित निकायलाई अनुरोध गर्ने ।

– संस्थाबाट कर्जा लिई कालो सुचीमा परेका सदस्य, धेरै लघुवित्त वित्तीय संस्थाहरुबाट कर्जा लिई विस्थापित सदस्यहरुको समस्या समाधान गर्न आवश्यक संयन्त्र बनाई त्यस्ता व्यक्तिहरुको समस्या समाधान गर्ने ।

– ऋण तिर्न नसकेर आन्दोलनमा लागेका ऋणीहरुको समस्या समाधानका निम्ति आवश्यक पहल गर्ने उल्लेख छ ।

१२ बुँदे सम्झौतापछि झन समस्या

ऋणीहरुले ऋण तिर्न नसकेर आत्महत्या गर्ने अवस्थामा पुग्न बाध्य भएको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताउँछन् । लघुवित्तमा आएको समस्या समाधान गर्ने भन्दापनि गृहमन्त्रालय गएर विभिन्न मानिस जोडेर १२ बुँदे सम्झौता गरिनुले झन उग्र रुप लिएको उनले बताए । उनले भने, ‘कि लघुवित्त सुधार हुनुपर्छ की खारेज हुनुपर्छ। संकटमा लघुवित्त आफै गएका हुन। धेरै समस्यामा राजनीति व्यक्तिदेखि ठूला व्यक्तिको सेयर भएको लघुवित्त छन्। ३३ लाख ऋणीको ऋण छ। ‘

सीवाइसी लघुवित्त वित्तिय संस्थाका प्रमुख डोलेन्द्र प्रसाद शर्माले माइक्रोफाइनान्सबाट अहिले जे जति समस्या आएका छन् ति आफ्नो संस्थाबाट नभएको उनको दाबी छ । उनले भने ‘बजारमा लघुवित्तको बारेमा समस्या नआएका हैनन् । तर त्यसका राम्रा पक्ष पनि छन् । संस्था खारेज भन्दा पनि सुधार गनुपर्ने देखिएको छ । ‘ त्यसैगरी आफुले विभिन्न पिडित महिलाहरुलाई जम्मा पारेर अन्तरक्रिया कार्यक्रम गरेको भन्दै सीवासी लघुवित्तमा त्यस्ता समस्या नरहेको उनले दाबी गरे ।

निर्धन उत्थान लघुवित्तका सिइओ जनार्दन देब पन्तले अहिले लघुवित्त सिद्धान्त विपरित हिडिरहेको बताउँछन् । हामीले उत्पादन गरेका बस्तुमा उचित कर लगाउनुपर्ने बताए । ताकी स्वदेशमा उत्पादन भएका बस्तु विक्री हुनपर्यो । धेरै महिला दिदी बहिनी एक भन्दा धेरै समुहमा बसेको भन्दै त्यसो सिद्धान्त बिपरित रहेको उनको भनाई छ । सानो सानो कर्जाबाट सुरु गरेर कृषिमा लाग्न उनले आग्रह गरे । अहिले जुन समस्या आइरहेको छ, त्यो समाधान गर्न मुख्य भुमिका वित्तिय साक्षरता संञ्चालन गनुपर्ने उनले बताए ।

माइक्रो फाइनान्स एसोसिएसनका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रो फाइनान्स भएर हो वा सुविधा बढी भएर हो अहिले समस्या भएको बताए । सोझा महिलाको नाममा लोन लिएर खाने प्रवृत्ति बढेको उनको भनाइ छ ।

के भन्छ राष्ट्र बैंक ?

कुनैपनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको छ भने त्यसलाई तत्काल कारबाही गर्ने राष्ट्र बैकका कार्यकारी निर्देशक रेवती नेपालले बताए । सेवा सुविधाको नाममा लघुवित्तले पछिल्लो समय बदमासी गरेको भन्दै बदमासी गरी बढी रकम असुलेका लघुवित्तबाट राष्ट्र बैंकले पैसा फिर्ता गर्न निर्देशन दिएको उनले बताए ।

लघुवित्त खारेज गर्ने भन्दापनि सुधार गर्दै जानुपर्नेमा जोड दिंदै उनले अहिले लघुवित्तमा जुन समस्या आएको छ, त्यो ‘केही शेयरका खेलाडी पसेर’ यसलाई बिगारेको उनको आरोप छ । लघुवित्तमा धेरै समयदेखि समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको पनि उनले बताएका छन्। लघुवित्तले केवाईसी समेत कार्यान्वयन नगरेको, सदस्यले छलेर ऋण लिएको, एउटाको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएको पाईएको लगायतका कारणले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्ने बारे चाँडै निर्देशन जारी गर्ने जनाएका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७९, मंगलवार १४:१०