काठमाडौ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्न अनुमति पाएको तिन महिनाभित्र शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै अनुमति पाएको तीन महिनाभित्र शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।
ब्रोकरले आवश्यक कागजातसहित एक पटकमा एउटा मात्र शाखा खोल्नको लागि निवदेन दिनुपर्नेछ। शाखा कार्यालय सञ्चालन गर्न कम्तीमा सात दिन अगाडि धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्नेछ। आवाश्यक पुर्वाधार तयार नभए १५ दिनको समय दिनेछ ।
त्यसपछि पनि तोकिएको पुर्वाधारको व्यवस्था नगरे अनुमति रद्दसमेत गर्न सकिने निर्देशिकामा उल्लेख छ। एउटा शाखा खोल्दा १ करोड ५० लाख चुक्तापूँजी कायम गर्नुपर्नेछ । यस्तै, चुक्तापुँजी भन्दा बढी नेटवर्थ हुनुपर्ने व्यवस्था गरिएको छ।
मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न पाइने छैन । यद्यपी दुर्गम जिल्लाको हकमा भने थप दुई शाखा खोल्न पाइने छ । ब्रोकरले काठमाडौं बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने व्यवस्था गरिएको छ।
खोल्दा प्रति शाखा एक करोड पचास लाख रुपैंयाका दरले चुक्ता पूँजी कायम गर्नु पर्नेछ ।
निर्देशिकाका मुख्य व्यवस्था:
१) धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न बोर्डले तोकेको विवरण तथा कागजातसहित बोर्ड समक्ष निवेदन दिनुपर्नेछ । धितोपत्र दलाल व्यवसायीले एकपटकमा एउटा मात्र शाखा कार्यालय खोल्नका लागि निवेदन दिन सक्नेछ ।
२) निवेदन उपर जाँचबुझ गरी बोर्डले सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले पन्ध्र कार्यदिन भित्र निवेदकलाई पूर्वाधार तयारी गरी शाखा कार्यालय खोल्न गर्न स्वीकृति प्रदान गर्नेछ ।
३) धितोपत्र दलाल व्यवसायीले स्वीकृति पाएको मितिले तीन महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याउनुपर्नेछ ।
४) शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अगाडि बोर्डलाई जानकारी गराउनुपर्नेछ ।
५) धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय सञ्चालन गर्नु अगाडि बोर्डले आवश्यक देखेको खण्डमा शाखा कार्यालयको पूर्वाधारको निरीक्षण गर्न सक्नेछ ।
६) निरीक्षण गर्दा पूर्वाधार तयार गरेको नदेखिएमा बोर्डले बढीमा पन्ध्र दिनको समय दिई पूर्वाधार तयार गर्न निर्देशन दिन सक्नेछ ।
७) पूर्वाधार तयार नगर्ने धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय खोल्न दिएको स्वीकृति बोर्डले रद्द गर्न सक्नेछ ।
८) धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बोर्डलाई जानकारी गराई जुन जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेको हो, सोही जिल्ला भित्र साविकको पूर्वाधार कायम राखी शाखा स्थानान्तरण गर्न सक्नेछ ।
९) धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्दा प्रति शाखा एक करोड पचास लाख रुपैंयाका दरले चुक्ता पूँजी कायम गर्नु पर्नेछ ।
१०) धितोपत्र दलाल व्यवसायीको मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृति दिइने छैन ।
तर नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ ।
११) धितोपत्र दलाल व्यवसायीले काठमाडौं उपत्यका बाहिर कम्तिमा तीनवटा शाखा खोले पछिमात्र काठमाडौं उपत्यका भित्र शाखा खोल्न सक्नेछ ।
१२) शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्ता पूँजी भन्दा बढी हुनुपर्नेछ ।
१३) शाखा कार्यालयबाट भएका कारोवार, कारोबार प्रणाली, कारोबारको राफसाफ तथा फछ्यौट कानून परिपालना लगायतका कार्यहरुको जिम्मेवारी तथा जवाफदेहिता मुख्य कार्यालयमा रहनेछ ।
१४)शाखा कार्यालयबाट सम्पन्न भएका कारोवारको विवरण सम्बन्धित मुख्य कार्यालय तथा शाखा कार्यालयले समेत राख्नुपर्नेछ ।
१५) निर्देशिका प्रारम्भ हुँदाका बखत शाखा कार्यालय खोल्न निवेदन दिई पूर्वाधार तयार गर्न बोर्डबाट सूचना नगरिएका धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न यो निर्देशिका बमोजिम पुनः निवेदन दिनु पर्नेछ ।१६) यो निर्देशिका प्रारम्भ हुँदाका बखत शाखा कार्यालय खोल्न निवेदन दिई पूर्वाधार तयार गर्न बोर्डबाट सूचना गरिएका धितोपत्र दलाल व्यवसायीले पूर्वाधार तयार गरी बोर्डलाई जानकारी गराएको अवस्थामा बोर्डबाट स्वीकृति लिई शाखा कार्यालय सञ्चालन गर्न सक्नेछ ।
१७) शाखा कार्यालय खोलेका धितोपत्र दलाल व्यवसायीको चुक्ता पूँजी निर्देशिकाको व्यवस्था बमोजिम नपुगेको भएमा यो निर्देशिका प्रारम्भ भएको मितिले ६ महिना भित्र चुक्ता पूँजी पुऱ्याउनु पर्नेछ ।
Comment