ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन, सर्वसाधारणमा विक्री सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन, सर्वसाधारणमा विक्री सुरु



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निस्कासन गरी बिक्री खुला गरेकोे छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको, १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आईतबारदेखि निस्कासन सुरु गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्रि हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्रि गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५५ का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा ३ सय ६५ शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय रुपैयाँभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार २२:०२