काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि आइतबार बजारमा ठूलो अंकको गिरावट आएको छ । आइतबार बजार ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा रोकिएको हो।
पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको अवस्थामा केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षाबाट बजार सुधारका लागि केही ठोस नीतिगत परिवर्तन गर्न सक्ने आम लगानीकर्ताको अनुमान थियो । विशेषगरी १२ करोडको सीमा परिमार्जन र १५० प्रतिशतको जोखिमभार घटाएर १०० मा झारिनसक्ने आम लगानीकर्ताले अनुमान गरेका थिए । तर, व्यवहारमा त्यसो हुन सकेन । जसले गर्दा बजार तल झरेको अनुमान गर्न सकिन्छ ।
आइतबार २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको सेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबार भएका सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको २८.७३, विकास बैंक १४१.४९, वित्त ८६.७४, होटल ९०.८७, जलविद्युत १११.१९, जीवन बीमा ३५७.२६, उत्पादन तथा प्रशोधन २२०.७३, माइक्रोफाइनान्स १०२.७२, निर्जीबन बीमा समूहको उपसूचक २४०.४५ अंकले घटेको छ ।
आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला हाईड्रोपावर, ग्रिनलाईफ हाईड्रोपावर, बरुण हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा आज हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १४ करोड ३७ लाख ६८ हजार भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment