६ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई बुझाए करिब १४ अर्ब आयकर,कस्को कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

६ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई बुझाए करिब १४ अर्ब आयकर,कस्को कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिना अवधिमा सरकारलाई करिब १४ अर्ब रुपैंया आयकर तिरेका छन् । दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेका २२ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १३ अर्ब ९३ करोड ७३ लाख ९० हजार रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा उक्त रकम १३.२८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकहरुले सरकारलाई १२ अर्ब ३० करोड २३ लाख १३ हजार रुपैयाँ आयकर बुझाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ । घर बहाल कर वापत १० प्रतिशत र ५ प्रतिशत ब्याजकर तिर्ने गरेका छन् । यस हिसाबले पनि सरकारको राजश्व संकलनमा वाणिज्य बैंकहरूको योगदान ठूलो रहेको देखिन्छ ।

नेपालमा कुनै पनि संस्थाको वार्षिक आयकर १० हजार रुपैयाँभन्दा बढी भएमा वार्षिक अनुमानित आम्दानीको ४० प्रतिशत पुस मसान्तमा र ३० प्रतिशत थप गरी ७० प्रतिशत चैत मसान्तमा र असार मसान्तमा शत प्रतिशत बुझाउनुपर्छ । अनुमानित आम्दानीबाट बुझाइएको आयकर वास्तविक आम्दानी भन्दा कम हुन गएमा सरकारलाई १५ प्रतिशत ब्याज थप गरी अपुग कर बुझाउनुपर्ने हुन्छ । तर, अनुमानित आम्दानीभन्दा वास्तविक आम्दानी कम भएर बुझाइएको कर बढी हुन गएमा अर्को वर्षका लागि हिसाब मिलान गरिने सरकारी प्रवाधान छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंकको सूचीको अग्रणी स्थानमा रहेको नबिल बैंक एक्लेलै ६ महिनामा १ अर्ब ४६ करोड ४८ लाख १७ हजार रुपैयाँ सरकारलाई आयकर बुझाएको छ । बैंकले गत वर्षको पुस मसान्तमा भने ९३ करोड ५२ लाख ९४ हजार रुपैयाँ कर सरकारलाई बुझाएको थियो ।

गत वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै आयकर बुझाउनेमा एनआईसी एशिया बैंक थियो । तर अहिले एनआईसी एशिया बैंक दोस्रो स्थानमा झरेको छ । यो अवधि सम्म बैंकले सरकारलाई १ अर्ब ४० करोड २८ लाख ५५ हजार रुपैयाँ आयकर बुझाएको छ ।

चालु आवको ६ महिनामा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले सरकार १ अर्ब बढी कर बुझाएका छन् । ६ महिनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १६ करोड २५ लाख ३७ हजार रुपैयाँ र ग्लोलब आइएमई बैंकले १ अर्ब ५७ लाख ३७ हजार रुपैयाँ आयकर बुझाएका छन् ।

गत वर्षको पुस मसान्तसम्म यी दुवै बैंकहरुले क्रमशः ८२ करोड २६ लाख ४५ हजार र १ अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बुझाएका थिए । गत वर्षको पुस मसान्तसमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई यस वर्षको सोही अवधिमा भने चौंथो स्थानमा पुगेको छ ।

त्यस्तै, ८ बाणिज्य बैंकको आयकर ५० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । जसमा अवधिसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८९ करोड ४१ लाख ३२ हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।

यस्तै, एनएमबि बैंकले ७९ करोड ९९ लाख ४८ हजार, स्टाण्डर्ड चार्टर्डले ७५ करोड १५ लाख ५८ हजार, प्राइमले ७१ करोड ३ लाख रुपैयाँ आयकर तिरेको छ । यी बैंकहरुले गत वर्षको पुस मसान्तमा भने क्रमशः ७१ करोड २८ लाख, ४६ करोड ५७ लाख र ७३ करोड ११ लाख रुपैयाँ आयकर बुझाएका थिए ।

त्यसैगरि, एभरेष्ट बैंकले ६८ करोड ५ लाख ७३ हजार, कुमारी बैंकले ५५ करोड ७० लाख ८३ हजार, सानिमा बैंकले ५३ करोड ६४ लाख १२ हजार र नेपाल एसबिआईले ५० करोड ४५ लाख ११ हजार रुपैयाँ कर बुझाएका छन् ।

साथै, सिद्धार्थ बैंकले ४९ करोड ७२ लाख ५४ हजार रुपैयाँ कर सरकारलाई बुझाएको छ । सो अवधिमा माछापुच्छ्रे बैंकको ४३ करोड ९३ लाख ९८ हजार रुपैयाँ, लक्ष्मीको ४१ करोड ९६ लाख, प्रभुको ४१ करोड २० लाख र हिमालयन बैंकको ४० करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सो अवधिमा सिटिजन बैंकले ३६ करोड ५ लाख ७१ हजार रुपैयाँ, नेपाल बैंकले ३५ करोड ४५ लाख ३२ हजार, सनराइजले २८ करोड २ लाख ६७ हजार सिभिल बैंकले २७ करोड ३८ लाख ७० हजार रुपैयाँ कर सरकारलाई बुझाएको छ ।

चालु आवको ६ महिनामा सबैभन्दा कम आयकर बुझाउनेमा कृषि विकास बैंकको देखिएको छ । बैंकले पुस मसान्तसम्म २ करोड १ लाख ९१ हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको छ । गत बर्ष यस बैंकले ६६ करोड ४५ लाख ९९ हजार रुपैंया आयकर बुझाएका थिए ।

प्रकाशित : २६ माघ २०७९, बिहीबार १३:१९