काठमाडौं । काठमाडौंको प्रर्दशनीमार्ग स्थिति भृकुटिमण्डपमा आयोजना हुने इन्फोटेकको प्रमुख अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सञ्चार रहेकी थिइन् । मन्त्री शर्माले मोबाइल एपबाट पानसमा बत्ति बाल्दै कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा ड्रोनबाट पुप्षवृष्टि समेत गरिएको थियो । इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ को अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, विद्युतीय सुशासन आयोगका सीईओ दिपेश विष्ट लगायतको उपस्थिती रहेको छ ।
माघ २५ गतेदेखि २८ गतेसम्म सूचना प्रविधि उदाउँदा प्रविधिबारे ४ वटा सेमिनार सञ्चालन हुने आयोजकले जनाएका छन् । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सरकारले स्वदेशी सफ्टवेयर उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । मेलाले डिजिटल नेपाल निर्माणमा सहयोग पुर्याउने क्यान महासंघका महासचिव चिरिञ्जीवी अधिकारीले बताए । मेलालाई अनलाइनबाट पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
इन्फोटेकमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउँछन् भने व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्छन् ।
क्यान इन्फोटेकको टिकट डिजिटल वालेट पे वेलबाट खरिद गर्न सकिन्छ । यस अन्तर्गत सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० शुल्क तोकिएको छ । तर पेवेल एपबाट टिकट काट्दा २५ रूपैयाँ टिकट पाइने छ ।
यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने विश्वास महासंघले लिएको छ ।
इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर हुने महासंघको भनाइ छ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लम्बिडसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।
साथै क्यान इन्फोटेकके दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ,क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन भइरहने छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।





Comment