सुपरिवेक्षकीय सूचना प्रणालीमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सुपरिवेक्षकीय सूचना प्रणालीमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकीय सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्थाले सुपरिवेक्षण प्रयोजनका लागि बुझाउनु पर्ने विवरण अब सुपरिवेक्षकीय सूचना प्रणाली मार्फत बुझाउनुपर्ने भएको छ ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै पुर्वाधार विकास बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई दैनिक रुपमा उक्त प्रणाली मार्फत रिपोटिङ गर्न भनेको हो ।

बैंक वित्तीय संस्थाले दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ः०० बजेसम्म र अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत राष्ट्र बैंकमा पठाउनु पर्ने व्यवसथा गरेको हो।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पेश गर्नुपर्ने तथ्याङ्क तथा जानकारीहरु सुपरिवेक्षकीय सूचना प्रणालीमा तोकिए बमोजिमका रिटर्नहरु तथा एडहक तथ्यांक र विवरणहरु निर्धारित समयावधिभित्र पठाउनु पर्ने व्यवस्था गरेका छ ।

यस व्यवस्था बमोजिम २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने व्यवसथा समेत केन्द्रीय बैंकले गरेको छ ।

इन्टिटि डिटेल वा प्रोफाइल सम्बन्धी विवरणहरु पनि तोकिएको अवधिभित्र सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्न बैंक वित्तीय संस्थालाइ केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बैंक वित्तीय संस्थाले महानगरपालिका र उप महानगरपालिकामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण रिपोर्टिङ पोर्टलमा र सुपरिवेक्षकीय सुचना प्रणालीमा अद्यावधिक गर्नु पर्नेछ ।

त्यसैगरी बैंक वित्तीय संस्थाले ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार १३:४१