धरौटीमा थुनामुक्त भए सन्दीप लामिछाने, विदेश जान भने रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धरौटीमा थुनामुक्त भए सन्दीप लामिछाने, विदेश जान भने रोक



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका उनी २० लाख धरौटी बुझाएर मुक्त भएका हुन् ।

उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन् ।

बिहीबार उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहिबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक सहितका सर्तहरु भने राखेको छ ।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

यसअघि उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले कारागारमै पुगेर सन्दीपलाई अदालतका शर्तबारे जानकारी गराएका थिए ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।

जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नका लागि इन्टरपोलसँग आग्रह गरेको थियो।

जाहेरी परेको करिब एक महिनापछि गत असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित : २९ पुष २०७९, शुक्रबार १४:३२