आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरी : अर्थमन्त्री पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

आर्थिक समस्या समाधानका लागि सामुहिक पहल जरुरी : अर्थमन्त्री पौडेल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापी रूपमा देखा परेको समस्या समाधान गर्न सामुहिक पहल जरुरी रहेको बताएका छन् ।

भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ को महामारीपछि विश्वव्यापी रूपमा आर्थिक मन्दीको सङ्केत देखिइराखेको र त्यससँग जुध्न सामुहिक पहल गर्ने यो उपयुक्त समय भएको बताएका हुन् ।

मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्दै उनले भने, ‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ । हामी सम्बृद्ध नेपाल, सुखी नेपालीको एजेण्डालाई अगाडि बढाउन केन्द्रित छौं ।’

आर्थिक रूपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूलाई प्राथमिकता दिएको र दीगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक रू. ५८५ अर्ब वित्तीय अभाव भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२.८ प्रतिशत हुन्छ । यो कोभिड १९ महामारी पूर्वको अनुमान भएकाले हाल यो वित्तीय अभाव बढ्न सक्छ,’ उपप्रधान तथा अर्थमन्त्रीले भने, ‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रूपमा वित्तीय स्रोतका विभिन्न स्वरूपको समिश्रण गर्नुपर्दछ ।’

नेपालले द्धिपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग सहयोगात्मक सम्बन्ध राखेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ प्राप्त गर्न इच्छुक रहेको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।

नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउँदै उनले वित्तीय समावेशीकरण तथा डिजिटलाइजेशनमा भारतले ठूलो सफलता हासिल गरेको र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा उनले व्यक्त गरेका छन् ।

समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बिया लगायत १५ देशका अर्थमन्त्रीहरूको सहभागिता थियो ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार १९:४९ 12 January, 2023 7:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।