बैंक ठूलो हुँदा बचतकर्ताको पैसा सुरक्षित हुन्छः अध्यक्ष पाँडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक ठूलो हुँदा बचतकर्ताको पैसा सुरक्षित हुन्छः अध्यक्ष पाँडे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक जति ठूलो हुन्छ त्यति नै बचतकर्ताको पैसा सुरक्षित हुने बताएका छन् । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष पाँडेले बैंक ठूलो हुँदा बचतकर्ताको पैसा सुरक्षित हुने बताएका हुन् । बैंक ठूलो हुँदा प्रविधिसमेत बलियो हुने पाँडेको भनाइ छ ।

अहिले बैंकहरुमा टेक्नोलोजी बलियो हुन आवश्यक रहेको बताए । अहिले ६ महिना वर्षदिनमा टेक्नोलोजी अपग्रेड गर्नुपर्ने र अत्यन्त महँगो हुने बताए । ठूलो बैंकले समय अनुसार टेक्नोलोजी बलियो बनाउन मदत पुग्ने बताए । पुँजी सानो हुँदा एउटै बैंकले ठूला परियोजनामा लगानी गर्न नसकेको बताए ।मर्जपश्चात् बनेको इन्भेष्टमेन्ट मेगा बैंकले अब ठूला–ठूला प्रोजेक्टमासमेत लगानी गर्न सक्ने उनको बुझाइ छ ।

‘नेपालमा भएका ठूला परियोजनामा कुनै एक बैंकले मात्र लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘एउटा ठूलो प्रोजेक्टका लागि धेरै संस्था मिलेर लगानी जुटाउन लामो समय जाने गरेको । बैंक मर्ज भएपछि यो समस्या समधान हुने छ ।’ उनले एउटा योजना बनाउन लाग्दा ७ वर्ष पैसा जुटाउन लागेको अनुभव पाँडेले उनले सुनाए ।

साथै बैंकहरुले राष्ट्रिय लेभलमा गएर पैसा कमाउन सक्नुपर्ने पाँडेको भनाइ छ । ‘अहिले बैंकहरुले कर्जा विस्तारबाट मात्र नाफा गरिरहेको छन,’ उनले भने, ‘बैंकहरुले नेसनल लेभलमा गएर पैसा कमाउने नयाँ मोडालिटीबाट अगाडि बढ्नुपर्छ ।’ अहिले बैंकहरुको नाफा घटेर औसतमा १०/११ प्रतिशत मात्र रहेका उनले बताए । ‘बैंकले सम्पत्ति त कहिले के बेचिरहेका छन,’ उनले भने, ‘ब्यालेन्स सिट हेर्दा दुई तीन बैंकको राम्रो देखिन्छ । तर, एक्चुल अप्रेटिङ प्रोफिट डिस्काउन्ट गर्दा १०/११ प्रतिशत बढी नाफा छैन ।’ अहिले बैंक मर्जरको पहिलो चरण भएको भन्दै पाँडेले दोस्रो चरणमा बैंकको संख्या बढीमा ७/८ वटा मात्रै हुने जिकिर गरे ।

यसैगरी, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र र अर्थतन्त्रका लागि सुखद र सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुबै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरुको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरुलाई अंगिकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास उनले व्यक्त गरे ।

यस रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ एवं सहयोग पुऱ्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, दुबै बैंकका सञ्चालक समिति, मर्जर समिति, कर्मचारीवर्ग लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरुप्रति दुबै बैंकका अध्यक्षहरुले संयुक्तरुपमा आभार व्यक्त गरे।

मर्जर पश्चात बैंकको कुल चुक्ता पूँजी रु. ३४.१२ अर्ब, कुल पूँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, त्यसैगरी कुल निक्षेप रु. ३६०.२ अर्ब तथा कर्जा लगानी रु. ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक अग्रणी बैंक बनेको छ ।

त्यसैगरी मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९, शाखारहित बैकिङ्ग सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ । निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लाहरुलाई समेटेर हरेक नेपालीलाई वित्तिय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १६:३२