नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु,मर्जर पछि को- को आए नयाँ सञ्चालक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु,मर्जर पछि को- को आए नयाँ सञ्चालक ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबिच मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत् रूपमा एकीकृत कारोबार शुरु भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन् ।

समृद्धिको पथमा सँगै अघि बढ्दै भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ । दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहने भएका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरूको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राज भण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहने भएका छन् । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रूपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् ।

बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकहरूको रूपमा सबल एवम् सक्षम संस्थाको रूपमा सुपरिचित रहिआएका दुवै बैंक एक आपसमा गाभिए पश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकहरूमा अग्रता हासिल गर्न सक्षम हुने अध्यक्ष पाँडेले बताए । साथै उनले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको समेत बताए ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ्ग क्षेत्र अर्थतन्त्रका लागि सुखद सकारात्मक कदम भएको बताए । मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमालाई उच्च कायम राख्न दुवै बैंकमा रहेका असल परम्परा, संस्कार, ग्राहकहरूको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षहरूलाई अङ्गीकार गर्नुका साथै शेयरधनिहरुको प्रतिफलमा न्यायोचित वृद्धि र निरन्तरता दिँदै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १२:४४