व्यवसायी भन्छन- चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

व्यवसायी भन्छन- चर्को ब्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन



काठमाडौँ । विना विभागीय मन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् ।

राष्ट्रिय व्यापार सङ्घको १८ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध रहेको बताएका हुन । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ,”– उनले भने ।

मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रह समेत गरे । गरिब देशको अर्थतन्त्रलाई सुढृढ बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ ।

आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख शशी भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताए । उनले बजारमा चोरी पैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाई गरेको बताए। कानूनी दायरामा रहेर व्यापार गर्न उनले व्यापारीलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्रा अस्थिर सरकारका कारण नेपालको अर्थतन्त्रले गती लिन नसकेको बताउनुभयो । “बैँकबाट चर्को व्याज लिएर व्यापार गर्नसक्ने अवस्था छैन, यसमा सरकारले विशेष ध्यान दिनुपर्छ,”–उनले भने । जबसम्म व्याजदर घट्दैन तबसम्म व्यापार गर्न नसक्ने उनको भनाई छ ।

हस्तकला सङ्घ बागमती प्रदेशका अध्यक्ष होमनाथ उपाध्यायले भूकम्प, नाकाबन्दी र कोरोनाका कारण थला परेको नेपालको अर्थतन्त्रलाई पुर्नउत्थान गर्न नयाँ सरकारले नयाँ कार्यक्रम अगाडि सार्नुपर्ने बताए ।

नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले बैँक तथा वित्तिय संस्थाले व्याज चर्को बनाउँदा व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । सरकारले नेपाली साना व्यवसायीलाई सस्तो व्याजदर पैसा उपलब्ध गराउन सकेमात्र काम गर्न सकिने उहाँको भनाई छ ।

सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले राष्ट्रिय व्यापार सङ्घले व्यवसायीको हक, हितमा मात्र काम नगरी सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताउनुभयो । व्यापार सङ्घले सिन्धुपाल्चोकको सामुदायिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई निःशुल्क पढाउँदै आएको उनकाे भनाइ ।

उनले बैँक तथा वित्तिय संस्थाले एकतर्फी व्याज बढाउँदा व्यवसायीहरु मारमा परेको भन्दै यसलाई तत्काल घटाउन सरकारसँग माग गरे । बेलाबेलामा नाका बन्द हुँदा व्यवसायीहरुले समस्या भोग्नुपरेको उनको भनाई थियो ।

सङ्घका उपाध्यक्ष रामचन्द्र पराजुली, पूर्व अध्यक्षहरु नयनबहादुर पण्डित क्षेत्री, रमेशचन्द्र वादे श्रेष्ठ, सल्लाहकारहरु प्रज्वलमान शाक्य, कृष्ण पराजुलीलगायतले व्यवसायीमैत्री वातावरण निर्माणका लागि राज्यले विशेष कदम चाल्नुपर्ने बताए।

विस २०६१ सालमा स्थापना भएको सङ्घमा हाल दुई हजारभन्दा बढी व्यवसायीहरु आवद्ध रहेको सङ्घका महासचिव बैकुण्ठ दाहालले जानकारी दिए ।

प्रकाशित : २४ पुष २०७९, आईतवार १५:१८