पहिला सहकारी क्षेत्र बचाउ अनि सुशासनका कुरा गरौंला:के.बी उप्रेती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पहिला सहकारी क्षेत्र बचाउ अनि सुशासनका कुरा गरौंला:के.बी उप्रेती



काठमाडाै । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी क्षेत्र बचाउनु अहिलेको आवश्यकता रहेका बताएका छन् । सहकारी क्षेत्र मात्रै नभई समग्र अर्थतन्त्रमै समस्या देखिएकाले तत्कालको लागि सहकारी क्षेत्र बचाउनु पर्ने धारणा राखे ।

विभिन्न कारणले मुलुकको अर्थतन्त्र मै नकारात्मक असर परेको र त्यसको प्रत्यक्ष असर सहकारीमा पनि परेको बताए । ‘अहिलेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नु पर्छ । अहिले तत्कालको लागि सहकारीमा सुशासनका कुरा भन्दा पनि सहकारी क्षेत्र बचाउने कुरा गर्नु पर्छ’, नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित समिति बीचको भेटमा अध्यक्ष उप्रेतीले भने, ‘सहकारी क्षेत्र बाँचेपछि सुशासनका कुरा गरौंला ।’

बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा १५ प्रतिशत पुगेको र कर्जाको ब्याजदर १९ पुगेको बताउँदै सहकारीमा भने १६ प्रतिशतको सीमाले समस्या पारेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीप्रसाद गुरागाईंले सहकारीमा सहकार्य हुनु पर्ने धारणा राखे । उनले राष्ट्रिय सहकारी बैंकले डिजिटलमा धेरै फड्को मारेको बताउँदै त्यसका सदस्यहरुलाई पनि अभ्यस्त बनाउँदै लैजानु पर्ने बताए ।

उनले सहकारीलाई मर्यादित, अनुशासित र व्यवस्थित गर्नु पर्ने बताउँदै सहकारीमा प्रविधि र प्रशिक्षणलाई प्राथमिकताका साथ काम गर्नु पर्ने धारणा राखे ।

प्रकाशित : २० पुष २०७९, बुधबार १९:१८