सरकारले उद्योगी व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले उद्योगी व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छ : गृहमन्त्री लामिछाने



काठमाडाैं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए । उनले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने काममा नचुक्ने प्रतिबद्धता ब्यक्त गरे ।

गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे । उनले उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नुनपर्ने बताए । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिन उनको आग्रह छ ।

उनले भने , ‘अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहा छैन तर हाम्रो तर्फबाट तपाईँहरूलाई रेर्ड कार्पेट छ । उद्योग, व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालयले गर्ने काममा चुक्दैनौँ । सरकारको एउटा स्पेशल युनिट खडा हुन्छ । कुनै कामका लागि व्यवसायीले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । अब उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूकामा गएर समय खेर फाल्नुपर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिनु होला । म कानुनी परिधिभित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिए । उनले उद्योगी व्यवसायीले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै देशको उन्नति हुने बताए । उनले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको सङ्ख्या ठूलो रहेको भन्दै फोहर सफा गर्न समय लाग्ने बताए। आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएकोले कानुनी परिधिभित्र रहेर काम गर्ने उनको भनाइ छ ।

मन्त्री लामिछानेले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताए। उनले कालोबजारी तथा कानुन विपरीतका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिनुभयो । उनले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताए ।

चेम्बरले गृहमन्त्रीसँग कालोबजारी, सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

प्रकाशित : २० पुष २०७९, बुधबार १४:१५