फैलिदैं नेपाली जुत्ता–चप्पलको साम्राज्यः कर छलीमा सरकारको मौनता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

फैलिदैं नेपाली जुत्ता–चप्पलको साम्राज्यः कर छलीमा सरकारको मौनता



काठमाडौं । देशभर छरिएर रहेका जुत्ता चप्पल उत्पादकहरुको संख्या १५ सयको हाराहारीमा रहेको अनुमान छ । फुटवयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालले २०७४ मा गरेको अनुसन्धानले नेपालमा लघु उद्योग, साना, मझौला र ठुला गरि हाल उद्योगहरुको अवस्था यस्तो रहेको देखिएको हो ।

जसमध्ये ठुला तथा मझौला २२९, साना तथा परम्परागत शिल्पीहरुमा आधारित १०७२ फेल्ट तथा हस्तकलामा आधारित २०० वटा रहेका छन् । साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले केही बर्ष अगाडीसम्म नेपाली उत्पादकका जुत्ता भने पछि नाक खुम्च्याउने उपभोक्ताहरुको मन जित्दै स्वदेशी जुत्ता चप्पलले बजारमा ६० प्रतिशत भन्दा बढी स्थान ओगट्न सफल भएको छ ।

२०७४ सालको अनुसन्धानका बेला ४ करोड ३९ लाख जोर रहेको उत्पादनको अवस्था हाल बढेर सो उत्पादन ५ करोड ६५ लाख पुगेको छ । त्यस्तैगरी हाल यस क्षेत्रका उद्योगहरुमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ । जसमध्य एक तिहाई महिला मात्र प्रत्यक्ष रुपमा कार्यरत रहेका छन् ।

यस्ता अधिकांश नेपाली जुत्ता, चप्पल तथा छाला जन्य बस्तुका उद्योगहरु सबैका लागि एक र एकका लागि सबैको अवधारणाबाट फुटवयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालमा संगठित छन् । नेपालको तीन करोड जनसंख्यालाई आधार मान्दा नौं करोड जोडी जुत्ता चप्पल आन्तरिक बजारको माग रहेको छ ।

फुडवयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले नेपाल जुत्ता उत्पादकको हिसाबले आत्मनिर्भर रहेको भन्दै हाल स्वदेशी उत्पादकलाई विश्वको १८ देशमा पुर्याउन सक्षम भएको प्रति खुसी व्यक्त गरे। तर, उनले केहि समयदेखि ग्रे मार्केट अर्थात नेपाली जुत्ता बजारभित्रको अवैध कारोवारका कारण नेपाली जुत्ता उद्योग समस्यामा परेको बताएका छन्। उनले यसबारे विभिन्न मन्त्रीदेखि सबै सरोकारवाला निकायहरूमा हारगुहार गर्दा पनि समाधान हुन नसकेको भन्दै अबको नयाँ सरकारबाट यस समस्याका बारेमा सम्बोधन हुने अपेक्षा गरिएको बताए ।

बजार विस्तारसँगै चुनौतीहरूको सामना पनी निकै गर्नुपरेको व्यवसायीहरु बताउँछन्। सरकारलाई तिर्नुपर्ने कर तिरेर सामान ल्याए पनि हाम्रो प्रतिस्पर्धा कर छली गरेर ल्याएका सामानहरुसँग हुने भएकाले समस्या आएको गोल्डस्टार नामको चर्चित नेपाली ब्रान्डको जुत्ता उत्पादक किरण सुज म्यानुफ्याक्चर्स प्रणालीको मार्केटिङ एन्ड ब्राण्डिङ निर्देशक विदुषी राणाले बताइन्। ‘नेपाली जुत्ता चप्पल कम्पनीहरुमा प्रतिस्पर्धा त भयो तर गुणस्तरयुक्त प्रतिस्पर्धामा भने जान सकेन। ‘ उनले भनिन्, ‘कर छली गरेर ल्याएका सामान र आफुहरुले ल्याएको सामानको ब्रण्डिङदेखि सबै चीज फरक पर्ने भएकाले प्रतिस्पर्धामा जान गारो छ ।’

यसलाई नियन्त्रण गर्नका लागि सरकारले बोर्डर लाइनमा सुरक्षा जाँच कडा गर्नुपर्नेदेखि वर्षेनी कर छलेर सामान ल्याएर बेचेको ठाँउमा अनुगमन गर्नुपर्ने उनले बताइन्। यस विषयमा सरकारसंग बारम्बार कुरा गर्दा पनी अहिलेसम्म नियन्त्रण नभएको उनको गुनासो छ। साथै, पुरानो सरकारबाट पूरा नभएपनि नयाँ सरकारबाट आफूहरुको समस्या सम्बोधन हुनेप्रति उनले आशा व्यक्त गरिन्।

चालु आव २०७७/७८ मा आयात ४ करोड ११ लाख ४६ हजार १११ जोर जुत्ता चप्पल भएको देखिन्छ भने निर्यात २७ लाख ६४ हजार ६४३ जोर भएको देखिन्छ । जुन अघिल्लो चालु आव२०७६/७७ मा आयात २ करोड २० लाख ८८ हजार ७६२ जोर भएको थियो भने चालु आव २०७७/७८ एक करोड ९० लाख ५७ हजार ३४९ जोर जुत्ता चप्पलले बृद्धि भएको देखिन्छ ।

उद्योगहरुको क्षमताको आधारमा हेर्दा ३५ प्रतिशत क्षमतामा मात्र उद्योगहरु संञ्चालनमा आएका छन् । स्वदेशी उत्पादनलाई धेरैले मन पराउदै गहिरहेको अवस्थामा ६० प्रतिशत भन्दा बढी ठाउँ ओगट्न सफल हुनु निकै उत्साहजनक स्थिती रहेको फुटवयेर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले बताए । तर, उद्योगहरुमा दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयात, न्युन विजकीकरण र चोरी पैठारीका कारण स्वदेशी उद्योगलाई प्रभाव पारेको छ । तसर्थ, क्षमताभन्दा कम उत्पादन गर्न उद्योगीहरु बाध्य हुनु परेको बन्जाडेले बताए । उनले भने  स्वदेशी उत्पादनलाई मानिसले किन मन पराएनन् भन्ने बारे आफुहरुले समिक्षा गरेको जनाएका छन् । जसबाट उपभेक्ता भनेको न्याधिसको रुपमा हुन् र व्यापारीहरु भनेको वकिलको रुपमा देखिएको भन्दै सबै आफ्नो ठाउँबाट जानकार भएर लाग्न आग्रह गरे ।

नेपाली फुटवयर उद्योग क्षेत्र हाल उत्पादन क्षमतालाई विश्लेषण गर्दा करिब ५ करोड जोर भन्दा माथि निर्यात गर्न सक्ने क्षमतामा रहेको छ । नेपाली उद्योगको बार्षिक उत्पादन क्षमता १६ करोड जोर भन्दा माथी रहेको छ । उद्यमीहरुको यस क्षेत्रको लगानी ३० अर्ब भन्दा माथी छ भने ४ अर्ब भन्दा माथी बैंक कर्जा रहेको छ । नेपालमा धेरैजसो ठूला र मझौला उद्योगहरु काठमाडौं, विराटनगर, विरगंज, बुटवल र भैरहवामा पनि रहेका छन् । यो क्रम २०७४ साल पछि पनि क्रमश बढ्ने क्रममा छन् ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार ०७:००